Logo

प्रचण्ड पछि हट्लान् ?



समाचार विश्लेषण । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईपटक राजीनामा मागेका छन् । उनले वैशाख र असारमा गरी दुईपटक राजीनामा मागेपनि पहिलोपटक ब्याक भए । ओलीसँग भित्री सहमति गरी उनी ब्याक भएका थिए । त्यतिबेला प्रचण्डलाई अध्यक्षका रुपमा केही अधिकार थपियो ।

प्रचण्डले वैशाखमा राजीनामा माग्दा पछि हट्नुमा उपाध्यक्ष बामदेव गौतम पनि कारण थिए । गौतमले नै सहमति गरौं भनेपछि ओलीविरोधी समुह विभाजित भएको थियो ।

९ वैशाखमा बालुवाटारमा पुगेर प्रचण्डले फेरि ओलीको राजीनामा मागे । उनले पार्टी सचिवालय बैठक अघि यसो भनेका थिए । त्यतिबेला प्रचण्डलाई वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमसहित कुल छ सचिवालय सदस्यको समर्थन प्राप्त थियो । आफूसहित छ जनाको साथ पाउँदा पनि राजीनामाको माग त्यति बलियो भएन । ओलीले कुनै हालतमा राजीनामा नदिने अडान कसे ।
ओलीलाई निरन्तर दबाब दिएपछि एकपछि अर्को राजनीतिक अस्त्र फालेर थकाउँदै लगे । आफूविरोधी समुहलाई विभिन्न प्रस्ताव राखेर ओलीले विभाजित बनाउन खोजे । यसको असर शनिबार र आइतबार देखियो । प्रचण्ड केही पछि हटेको सन्देश गयो ।

आज प्रचण्डले आफूनिकट स्थायी कमिटी सदस्यहरुलाई खुमलटारमा डाके । तर, बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल र आपूर्तिमन्त्री लेखराज भट्ट अनुपस्थित रहे । प्रचण्ड निकट मानिएका दुवैजना अनुपस्थित रहनुलाई अर्थपूर्ण मानिएको छ । दुवैले प्रचण्डको साथ छाडिदिएको देखिएको छ ।

प्रचण्डले आजको बैठकमा परामर्श गरे । विश्वस्त स्रोतका अनुसार उनले ओलीसँग मिलेरै जाने विषय राखे । त्यसमा पक्ष विपक्षमा सुझाव आयो । तर, प्रचण्डले ओली हटाउन नसक्दाको थकान मात्र देखाएनन् पार्टी दुर्घटनामा पुग्न सक्ने खतरा पनि औल्याए । प्रचण्डमाथि दबाब बढेको हुनसक्ने बैठकमा सहभागी एक नेताले बताए । त्यसैले उनी ओलीसँग सहमति गरेर बढ्न खोजेका छन् ।

ओलीलाई राजीनामा गराउने अडानमा कायमै रहने पक्षमा वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल देखिएका छन् । बामदेव गौतम पनि पछिल्लो समय पर्ख र हेरमा पुगेका छन् । प्रचण्ड कतै पछि हट्ने त होइनन् भन्नेमा उनकै निकटस्थहरुले अनुमान लगाउन थालेका छन् । सधै आक्रामक शैलीको राजनीति गर्ने प्रचण्ड रक्षात्मक बन्दै गएका छन् । यसलाई उनी कमजोर भएको देखि संयम भएको सम्मको विश्लेषण गरिएको छ । तर, कुनैबेला ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अबलम्बन गर्ने प्रचण्ड ओलीसामु कतै निरिह त भएका होइनन् ? यो प्रश्न तेर्सिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot