Logo

बुधबारसम्म धेरै वर्षा हुने, सतर्कता अपनाउन आग्रह



काठमाडौँ, ६ साउन । बुधबारसम्म काठमाडौँ उपत्यका आसपासका क्षेत्रहरूमा अत्यधिक वर्षा हुने भएकाले सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
‘आईतबारदेखि बुधबारसम्म अत्यधिक वर्षा हुने हामीले पूर्वसूचनासमेत दिएका छौँ’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताउनुुभयो ।

उहाँले काठमाडौँ तथा आसपासको क्षेत्रमा अत्यधिक वर्षासँगै राम्रो निकासको अभावमा डुबानको समस्या देखिएको बताउनुभयो । यो वर्षाको कारणले मात्रै नभएर शहरमा पानीको निकास जाने ठाउँको अभावको कारणले समस्या देखिएको उहाँले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्का, मध्यम वर्षा तथा भारी हुने जानकारी दिएको छ । यो क्रम बुधबारसम्म निरन्तर रुपमा चल्ने प्रधानाङ्गले बताउनुभयो ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाको समेत सम्भावना रहेकाले सो क्षेत्रमा बस्ने स्थानीयलाई सुरक्षित रहन उहाँले अनुरोध समेत गर्नुभयो ।

नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ । विभागका अनुसार, हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था भएकाले खतरा बढेको जनाएको छ ।

२४ घन्टामा तीनको मृत्यु
नेपालका विभिन्न जिल्लाहरूमा २४ घन्टाको बीचमा तीन जनाको ज्यान गएको छ । यो समयमा १२ स्थानमा पहिरो, चार स्थानमा अविरल वर्षा, दुइ स्थानमा बाढी र एक स्थानमा आगलागीसमेत भएको छ । यो समयमा तीन जनाको मृत्यु, एक जना बेपत्ता र १२ स्थानमा सडक अवरुद्ध भएका खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्