Logo

प्रचण्डलाई नेताहरुको सुझाव, ‘ओलीसँग मिलेरै अगाडि बढ्नुहोस्’



काठमाडौं, ६ साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफू निकट स्थायी समितिका सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेरै अगाडि बढन सुझाव दिएका छन् ।

पार्टी एकताको क्रममा दुई अध्यक्षको भूमिका महत्वपूर्ण भएकाले जारी विवाद समाधान गरेर अगाडि बढ्न नेताहरुले सुझाव दिएका हुन् । कोरोना, देशभर देखिएको बाढीपहिरोको समस्या अनि पार्टीभित्रको आन्तरिक किचलो सधैं जारी राख्दा जनमतको अपमान हुने सुझाव दिँदै स्थायी समितिका सदस्यहरुले पार्टी विभाजनको कल्पना गर्न नसकिने भएकाले ओलीसँग मिलेर नै अगाडि बढ्न सुझाव दिएका हुन् ।

एक महिना अघिबाट शुरु भएको विवाद चर्किंदै जाँदा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग सचिवालय र स्थायी समितिमा उठेको छ । अझै पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने मागको समाधान हुन सकेको छैन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने दबाब दिए पनि कुनै पनि हालतमा दुवै पदबाट राजीनामा नदिने अडान प्रधानमन्त्री ओलीले राख्दै आउनुभएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच छैटौंपटकको वार्ता सकारात्मक बनेको थियो । प्रधानमन्त्री ओलीले आफू सम्मानपूर्वक बहिर्गमनका लागि आगामी मंसिरमा महाधिवेशन गरेर अध्यक्ष पद छोड्न तयार रहेको प्रस्तावप्रति प्रचण्ड सकारात्मक बनेका थिए । तर गत शनिबारको बैठकमा ओलीले राखेको उक्त प्रस्तावमा प्रचण्डले समर्थन जनाए पनि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले अर्को विरोध जनाएका खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot