Logo

उपत्यकाका बस्तीमा बाढी



काठमाडौं, साउन ६ । आइतबार साँझदेखि भएको वर्षाका कारण काठमाडौं उपत्यकाका केही स्थानमा नदीको सतह भरिएर बस्तीमा बाढी पसेको छ । वर्षाका कारण काठमाडौं उपत्यकाका खोलाहरूमा पानीको सतह बढ्दा आसपासमा रहेका बस्तीहरूमा बाढी पसेको हो । हिजो सोमबार उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती डुबानमा परेको प्रहरीले बताएको छ ।

बाग्मतीमा आएको बाढीका कारण थापाथलीस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ भने भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीका कारण किनारका बस्ती डुबानमा परेका छन् । बाढीका कारण बाग्मती खोलाका आसपासमा रहेका करिडोर सडकसमेत कतिपय स्थानमा डुबानमा प(यो ।

बाग्मतीमा आएको बाढीले टेकु आसपासका बस्तीमा समेत असर पु(याएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिए । उनका अनुसार बाग्मतीमा आएको बाढीका कारण टेकुका २९ घरपरिवार प्रभावित भएका छन् भने ७ घरपरिवारलाई विश्वनिकेतन स्कुलमा सारिएको छ ।

यसैगरी, विष्णुमती नदीमा आएको बाढीका कारण कालिमाटी क्षेत्रका १० घरपरिवारलाई कालिमाटीको सतल पाटीमा सारिएको एसएसपी यादवले जानकारी दिए । यस्तै, भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्रका धेरैजसो स्थान प्रभावित भएको छ । बाढीका कारण बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेका छन् । बाढीका कारण भक्तपुर नगरपालिकाका–१, ३ र ४ क्षेत्र बढी प्रभावित भएको हो ।

ती वडाहरूमा घरभित्र समेत पानी पसेको थियो । वडा–१ का अध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार राममन्दिर बाराहीस्थानदेखि डाक्टर युवा मोरा हस्पिटल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनीमा लगाइएको धानबाली समेत पानीले डुबाएको छ । भक्तपुर प्रहरीका अनुसार हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी पसेको हो ।

यसैगरी, कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा बाग्मती नदी बस्तीमा पसेको छ । सुन्दरीघाटस्थित सुकुमबासी बस्तीमा बाढी पसेपछि त्यहाँका चार घरबाट २० जनाको उद्धार गरिएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ । उनीहरूलाई रमण कसट्रक्सनमा लगेर राखिएको छ ।

यस्तै, बाढीका कारण ललितपुरको बाग्मती गाउँपालिका–५ रुम्बामा सडक अवरुद्ध भएको छ । चापागाउँबाट गिम्दी जाने बाटो अवरुद्ध भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो । यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा अविरल वर्षाका कारण पुल हाउस भत्किएको छ । पुल हाउसको पर्खाल भत्किँदा २ लाखको क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्