सर्लाही, साउन ६ । आइतबार र सोमबार परेको मुसलधारे वर्षाले जिल्लाको पूर्वपश्चिम लोकमार्ग क्षेत्रमा समेत डुबानको समस्या देखिएको छ । सर्वसाधारणले आफूखुशी बनाएको घरलगायत संरचना तथा पछिल्लो केही वर्षयता टोलटोलमा निकासबिना केही उचाइका साथ सडक कालोपत्रको काम भएकाले उत्तरी क्षेत्रमा समेत डुबानको समस्या निम्तिएको हो ।
आइतबार दिउँसोदेखि नै परेको अविरल वर्षाका कारण पूर्वपश्चिम लोकमार्ग क्षेत्र डुबानमा परेको छ भने सवारी साधन बाढी तथा डुबानको चपेटामा परेका छन् । वर्षाले उत्तरी क्षेत्रका लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, वाग्मतीलगायत स्थानमा समेत कतिपय घरहरु डुबानमा परेको स्थानीयवासीले गुनासो गरेका छन् । कतिपय ठाउँमा कालोपत्र सडकसहित संरचनामा पानीले क्षति पु¥याएको छ ।
हरेक वर्षायाममा सदरमुकाम मलङ्गवासहित दक्षिणी क्षेत्रका बजार एवं गाउँ जलमग्न हुने तथा वर्षाको पानीबाट समस्या झेल्दै आइरहेको भए पनि पछिल्लो दुई वर्षयता उत्तरी क्षेत्रमा समेत डुबानको समस्या देखिएको हो । विसं २०५० को अविरल वर्षामा समेत जलमग्न नभएका उत्तरी क्षेत्रका बजार गाउँ अहिले केही समय पानी पर्दा पनि डुबानको चपेटामा परेका छन् ।
निकासबिनाको विकासले डुबानको समस्या बढेको सामाजिक अभियानकर्मी रजनिकान्त झाले बताउनुभयो । “नाला, ह्युमपाइप, कल्भर्टजस्ता निकास नै नदिएर सडकको उचाइ बढाउँदै कालोपत्र गर्ने क्रम बढिरहेको छ, घरहरु जताततै निर्माण भएकाले पनि समस्या सिर्जना भएको छ”, झाले भन्नुभयो । आइतबार र सोमबारको अविरल वर्षाका कारण पूर्वपश्चिम लोकमार्गका केही लच्काहरुमा बाढी आउँदा सवारी साधन आवतजावतमा समेत समस्या भएको ट्राफिक प्रहरीले बताएको छ ।रासस