काठमाडौँ, ६ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भएको बताएका छ । विपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घले विपी सङ्ग्रहालय सुन्दरीजलमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले काँग्रेसले सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन् । वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन काँग्रेसको अहिलेको मुख्य आवश्यकता भएको बताए । “काँग्रेसका कुनै नेताको पछाडि नलाग्नुहोस्, विचार, सिद्धान्त र आदर्शको पछाडि लाग्नुहोस्”, कार्यकर्तासँग उनले भने । कार्यकर्ताले नेताको मुख्याङ्कन गर्न सक्नुपर्ने उनको भनाइ थियो ।
नेता पौडेलले विपी कोइरालाले मुलुकमा सामन्तवादी युगको अन्त्य गरेर लोकतन्त्रका लागि लडेकाले कोइराला युगान्तकारी नेता भएको उल्लेख गरे । मुलुकको कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासका लागि पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले काँग्रेसले विपीको आदर्श र सिद्धान्तलाई नभुलेको प्रस्ट पारे
काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सबै मिलेर काँग्रेस भित्रको विवाद अन्त्य गर्नुपर्ने बताए । पार्टी भित्रको समस्या समाधानका लागि नेतृत्वले सबैलाई मिलाएर अगाडि लैजानुपर्ने उनको भनाइ थियो । पूर्वपरराष्ट्रमन्त्री डा महतले विदेशी ऋण स्वीकृत गर्ने सरकारले विदेशी सहयोग रकम लिन नमानेर गल्ती गरेको उल्लेख गरे ।
काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले विपीको सपना काँग्रेसले मात्र पूरा गर्न सक्ने बताए । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले वर्तमान सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाए । उनले काँग्रेसभित्र विपी कोइरालाको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले नेविसङ्घ केन्द्रीय समितिलाई तत्काल पूर्णता दिन माग गरे । उनले विपी कोइराला महान् राष्ट्रवादी नेता भएको उल्लेख गरे ।-रासस/Photo By: Mukund Kalikote