Logo

अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन



तनहुँ, ६ साउन: सोमबार रातिदेखि परेको अविरल वर्षापछि पृथ्वीराजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको मुग्लिन–पोखरा सडकखण्ड साँझ ८ बजेदेखि पुनः सञ्चालन भएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिकामा पर्ने मार्कीचोक र ऐनापहरामा गएको पहिरो पन्छाएपछि अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएको हो ।

पृथ्वीराजमार्ग क्षेत्रमा सानाठूला गरी करीब दश स्थानभन्दा बढी स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । बिहान ७ बजेदेखि पाँचवटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा अवरुद्ध पहिरो हटाउन प्रयोग गरिएको उनले बताए ।

सोमबार बिहान पानी परिरहे पनि दिउँसो पानी रोकिएपछि घाम लागेका कारण पहिरो पन्छाउन सहज भएको हो । उनले भने, “मौसमले साथ दिएका कारण पहिरो हटाउन सफल भएको हौँ ।” पृथ्वीराजमार्गअन्तर्गत दमौली–थर्पु र दमौली–डुम्रे सडकखण्ड क्षेत्रको पहिरो पन्छाई सकेपछि बाँकी रहेको आँबुखैरेनी क्षेत्रको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । -रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot