Logo

लकडाउन अन्त्य, राहतको महसुस



काठमाडौं, साउन ७ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन अन्त्य गरेको छ । लकडाउन अन्त्यसँगै नागरिकले राहत महसुस गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पछिल्लो समय लकडाउन बहानाबाजी बन्दै गएको र यसले सर्वसाधारणको जनजीवन कष्टकर भएको महसुस गर्दै जनजीवन सामान्य बनाउन लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट देशव्यापी रूपमा जारी हुँदै आएको लकडाउनको अवस्था अन्त्य भएको जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा खतिवडाले लकडाउन अन्त्य गरिएको जनाए । उनले लकडाउनले मनोवैज्ञानिक त्रास दिएको र बहानाबाजी पनि भएको भन्दै अन्त्य गरिएको स्पष्ट पारे । प्रवक्ता खतिवडाले लकडाउन अन्त्य गरिए पनि जोखिम भने कायमै रहेको समेत बताएका छन् ।

स्वास्थ्य सुरक्षाको जोखिम तथा संक्रमणको जोखिम भने कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, सामाजिक दुरी कायम राख्ने र स्यानिटाइज्ड गर्ने काम जारी राख्नुपर्ने उनको भनाइ छ ।

सरकारले सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्यसमेत गरेको छ । यसअघि, सरकारले आंशिक रूपमा लकडाउन खुकुलो बनाउँदै सरकारी कार्यालयमा लागु गरिएका दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरेको छ ।

सरकारले यसअघि नै काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र बाहिरी जिल्लामा सम्बन्धित जिल्लाभित्र सीमित हुने गरी सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएकामा अब लामो दुरीको यातायात खुलाउने निर्णयसमेत गरेको छ । सरकारका प्रवक्ता खतिवडाका अनुसार १ भदौदेखि लामो दुरीको यातायात सञ्चालन गर्न पाइने भएको छ ।

मन्त्रिपरिषद् बैठकले १५ साउनदेखि होटल र रेस्टुरेस्ट,ट्राभल, पर्वतारोहण खोल्न अनुमति दिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्