काठमाडौं, साउन ७। अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार गत २५ असारदेखि मंगलबारसम्म विभिन्न सडकखण्डका १ सय ३ स्थानमा क्षति पुगेको छ भने ती स्थानमा यातायात अवरुद्ध भएको थियो । जसमध्ये ३४ स्थानमा अझै अवरोध हटेको छैन भने कतिपय ठाउँमा आंशिक रूपमा सडक सञ्चालन भएको छ ।
सडक विभागले सडकखण्डमा रहेको अवरोध हटाउने प्रयास जारी राखे पनि भारी वर्षा तथा बाढीपहिराका कारण समस्या भइरहेको जनाएको छ । अवरुद्ध सडक खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सडक विभागका कर्मचारीलगायत खटिरहेका छन् ।
अवरुद्ध कतिपय ठाउँमा डाइभर्सन गरेर यातायात आवतजावत गराइएको छ भने कतिपय ठाउँमा सडक मर्मतको काम भइरहेको छ । सडक विभागले कतिपय ठाउँमा मंगलबारसम्मै भारी वर्षा भएकाले सडक खुलाउन अप्ठ्यारो भएको जनाएको आजको राजधानी दैनिकमा खवर छ ।