काठमाडौं, ७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारतले हटाउन लागेको भनेर दिएको अभिव्यक्तिमा के सत्यता छ ? भन्दै प्रश्न गरेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गिरीले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीलाई आफ्नो दम्भ, कमजोरी, अहंकार, गैरजिम्मेवार बोली सुधार गर्न सुझाव दिए । उनले भने,‘पहिले तपाईले के प्रयोग गर्नुभयो, नक्शावाण, बधाई छ । अब उहाँको रामवाण आईसक्यो । नक्शावाणदेखि रामवाणसम्मको यात्रा यस्तो गैरजिम्मेवार काम गर्ने व्यक्तिले आफ्नो गैरजिम्मेवार हेरि, आफ्ना सचिवालयमा बहुमत नराखी, आफ्ना स्थायी समितिमा बहुमत नराखी, सानो अप्ठ्यारो पर्नेबित्तिकै भारत र चीनलाई गाली गर्ने, भारतलाई गरेपनि, चीनलाई गरेपनि वा अमेरिकालाई गरेपनि, यसरी आफ्नो समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नु अत्यन्त कच्चा अदुरदर्शी र प्रत्युत्यापदक कुटनीति हो ।’