Logo

लकडाउनमा भर्चुअल कक्षा सञ्चालन गरेको न्यूनतम शुल्क लिन पाउनुपर्ने निजी विद्यालयको अडान



काठमाडौँ ७ साउन : निजी विद्यालयहरूले कोभिड–१९ महामारीको विद्यमान विषम परिस्थितिमा न्यूनतम शुल्क (ट्युसन फी) लिएर भर्चुअल कक्षा सञ्चालन तथा रेडियो र टेलिभिजनमार्फत् कक्षा सञ्चालनमा समेत सरकार अनुदार हुँदा विद्यालय बन्द गर्नुपरेको बताएका छन् ।

नेपाली कांग्रेसको लगानी, पूर्वाधार तथा रोजगार समितिले निजी विद्यालयहरू र तिनका संगठन प्याब्सन तथा एन–प्याब्सनसँगको छलफलमा यस्तो बताएका हुन् । छलफलमा समितिका संयोजक विनोद चौधरीले सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण सच्याउन आवश्यक रहेको बताए ।

सरकारले न्यूनतम शुल्क समेत लिन नदिएपछि देशभरका निजी विद्यालयहरू साउन १ देखि बन्द छन्, जसका कारण निजी विद्यालयमा शिक्षण पेसामा आवद्ध शिक्षक-शिक्षिका तथा अन्य कर्मचारीहरुको रोजगारी संकटमा परेको छ । सरकारले लकडाउन हटाएपनि विद्यालय सञ्चालन गर्ने मिति तोकेको छैन । जसका कारण विद्यार्थी भर्नामा समस्या भइरहेको छ ।

‘गुणस्तरीय शिक्षाले मुलुकका लागि आवश्यक मानव पुँजीको विकास गर्छ र अपवाद सामुदायिक विद्यालयबाहेक निजी क्षेत्रबाट नै यो महत्वपूर्ण काम हुँदै आएको छ,’ चौधरीले भने, ‘कोभिड–१९ को विषम परिस्थितिमा न्यूनतम शुल्क लिएर डिजिटल (भर्चुअल) माध्यमबाट कक्षा सञ्चालन गर्न खोज्दा पनि नदिनु दुःखद् हो ।’

निजी क्षेत्रबाट गुणस्तरीय शिक्षा प्रदान गर्न स्थापना भएका शिक्षण संस्थाहरु सेवामूलक उद्योगको रुपमा विकास भएको र मुलुकमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै निजी विद्यालयलाई रोक्ने या अवरोध गर्ने नभइ सामुदायिक विद्यालयलाई समेत निजीसँग प्रतिस्पर्धी बनाउनुपर्ने धारणा उनले राखे । कोभिड–१९ को महामारीमा आम्दानी गुमेको अवस्थामा हस्पिटालिटी क्षेत्रलाई जस्तै व्यवहार निजी विद्यालयहरूले समेत पाउनुपर्ने चौधरीको भनाइ छ ।

समितिका उपसंयोजक उमेश श्रेठले शिक्षामा निजी क्षेत्रले ६ खर्ब रुपैँया भन्दा बढी लगानी गरेको र लाखौं व्यक्तिलाई रोजगारी दिएकोमा उनीहरूको जीविका (सर्भाइभल)का सम्बन्धमा सरकारले ध्यान नदिएको भन्दै निजी विद्यालयहरू आफैंले स्वास्थ्य सम्बन्धि प्रोटोकल (मापदण्ड) लागू गरी कम विद्यार्थी राखेर सुरक्षित किसिमले कक्षा सञ्चालन गर्नेतर्फ अघि बढ्नुपर्ने बताए ।

एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थी, अभिभावक न्यूनतम शुल्क लिएर अनलाइन र इन्टरनेटको राम्रो पहुँच नभएको ठाउँमा रेडियो र टेलिभिजनबाट कक्षा सञ्चालन गर्नेमा सहमत हुँदा पनि सरकारले यसलाई अवरोध गर्नु पूर्वाग्रही मानसिकता भएको बताए । ‘सरकारले तोकेको शुल्क लिएर निजी लगानीमा खुलेका विद्यालयलाई शुल्क लिन पाउँदैनौं भन्नु अन्याय हो,’ उनले भने, ‘यो अन्यायविरुद्ध सबै विद्यालय एकजुट भएर सामना गर्नुपर्छ । विद्यालयको भाडा, बैंकको ऋण, बत्ती, पानी, कर्मचारीको तलब जस्ता सञ्चालन खर्च समेत तिर्न नसकेर बन्द गर्नुपर्ने अवस्था आइसकेको छ ।’ सापकोटाले सरकारले लगानी, रोजगारी र मानवपुँजी विकासको मर्म नबुझेको बताए ।

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले निजी विद्यालयहरूले अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी र गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकको आर्थिक विकासमा टेवा पु¥याएको चर्चा गर्दै निजी विद्यालयले विपन्नलाई छात्रवृत्ति दिनेदेखि चालु आर्थिक वर्षदेखि एउटा निजी विद्यालयले एउटा सामुदायिक विद्यालयलाई प्रविधि र विज्ञता (टेक्निकल नो–हाउ) दिएर प्रतिस्पर्धी बनाउन तयार रहेको अवस्थामा सरकारले निजी शिक्षाप्रतिको दूराग्रह त्याग्नुपर्ने बताए । विश्वविद्यालयहरूले पनि शुल्क लिएर अनलाइन÷डिजिटल कक्षा सञ्चालन लिइरहेका छन्, तर सरकारले भने निजी विद्यालयहरूलाईमात्र लक्षित गरेको उनको भनाइ छ ।

निजी विद्यालयहरूले विद्यालयमा ट्रेड युनियनका कारण गुणस्तरीय शिक्षा र दक्षतापूर्वक विद्यालय सञ्चालनको वातावरणमा समेत ह«ास आउने अवस्था देखिएकाले व्यवस्थापनले क्षतिपूर्ति दिएर कर्मचारी हटाउन पाउनुपर्ने साथै निजी विद्यालयमा अध्ययन गरेकाले उच्च शिक्षामा सरकारी छात्रवृत्ति नपाउनेजस्ता व्यवस्थाको लागि समेत लडिरहेको र त्यी मुद्दाले संसद्मा प्रवेश पाउनुपर्ने बताएका छन् ।

निजी क्षेत्र भन्नेवित्तिकै पूर्वाग्रही दृष्टिकोण राखेर मुलुकले उन्नति गर्न नसक्ने भन्दै निजी विद्यालयका सञ्चालकहरूले खुला बजार, उदार अर्थतन्त्र र निजी लगानीको हिमायती नेपाली कांग्रेसले निजी लगानी र रोजगारी सिर्जनाका लागि आवाज सशक्त बनाउन र निजी क्षेत्रलाई अवरोध गर्ने कानुनी र नीतिगत व्यवस्थाको विरुद्धमा उभिन आम निजी विद्यालय सञ्चालकहरूले आह्वान गरेका छन् ।मेरोलागानी/File photo



प्रतिक्रिया दिनुहोस्