साउन ७, काठमाण्डौ । कोरोना महामारी र लकडाउनका कारण रोकिएका रातो मच्छिन्द्रनाथको रथारोहण आगामी शनिबार सुरु हुने भएको छ । मच्छिन्द्रनाथको रथारोहणका लागि साउन १० गतेको लागि साइत जुरेको हो । रथारोहण पछि गुर्जु पल्टनका सैनिकहरूले बन्दुक पड्काएपछि औपचारिक रूपमा रथयात्रा सुरु गर्ने चलन छ ।
सामान्यतया रथारोहणको चौथो दिनका रथयात्रा गराउने चलन थियो । यस पटक रथारोहणकै दिन रथयात्रा सुरु भए पनि अरू प्रक्रिया यथावत हुने बताइएको छ । रथयात्रा सुरु भएपछि साउन १० गते पुल्चोकमा रहेको सो रथलाई तानेर गाबहालको चारदोबाटो पुयाउने गरिन्छ । रथयात्राको पहिलो दिन रथलाई विधिवत पूजा गरी सोही चोकमा राखिन्छ ।
दोस्रो दिन गाबहालबाट मंगलबजारसम्म रथ तान्ने गरिन्छ । तेस्रो दिन सुन्धारासम्म र चौथो दिन पनि सुन्धारामा रथ राख्ने गरिन्छ । हरेक दिन बिहान र बेलुकी रथमा विधिवत् पूजा गर्ने गरिन्छ । त्यस्तै, पाँचौं दिन रथलाई महाबौद्धभन्दा अघि पुरानो बालकुमारी पीठसँगै रहेको खाली ठाउँमा राख्ने गरिन्छ । त्यसैको भोलिपल्ट लगनखेलमा रहेको रूखमा रथ घुमाएर त्यहीँ राख्ने गरिन्छ । त्यसपछि फेरि अर्काे साइत हेरेर त्यसलाई जावलाखेलसम्म तान्ने गरिन्छ ।
जावलाखेल पु¥याइएको चौथो दिनमा भोटो देखाउने गरिन्छ । भोटो देखाएकै दिन बेलुका मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती लैजाने गरिन्छ । गत चैत २८ गते कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु गरिएको थियो ।