साउन ७, काठमाण्डौ । करिब ४ महिनाको लकडाउन आजदेखि अन्त्य भयो । तर सरकारले लकडाउन खुकुलो बनाउनुपर्ने बेला पुरै बन्द गरेको, अहिले कडा लकडाउन गर्नुपर्नेबेला खोलेको भन्ने तर्कहरु आउन थालेका छन् । सरकारले स्वास्थ्य विज्ञहरुसँग छलफल नगरी लकडाउन अन्त्य गरेको कतिपयको आरोप छ ।
सरकारले नेपालमा लकडाउन घोषणा गर्दा दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये पनि एक जना निको भइसकेका थिए । अर्को एक व्यक्ति उपचाररत अवस्थामा लकडाउन घोषणा गरिएको थियो । अर्थात लकडाउन घोषणा हुँदा सक्रिय सक्रमितको संख्या १ मात्रै रहेको थियो ।
लकडाउनपछि केही दिन वा हप्ता बिराएर संक्रमित भेटिएका थिए । तर अहिले दैनिक एक सयभन्दा धेरै जना संक्रमित भेटिने गरेका छन् । यही बेला सरकारले लकडाउन अन्त्य भएको घोषणा गर्यो । यद्यपी सबै क्षेत्र पूर्ण रुपमा खुलेका छैनन् । तै पनि संक्रमणको जोखिम कायमै रहेकाले सरकारले लकडाउन अन्त्यको घोषणा गर्न हतार गरेको सर्वसाधारण बताउँछन् । काठमाण्डौ उपत्यकामा जनघनत्व अत्याधिक भएकाले पनि जोखिम उच्च भएको भन्दै सर्वसाधारण त्रसित छन् ।
जनस्वास्थ्यका विज्ञहरुले पनि कोरोना संक्रमणको क्रम अन्त्य नभएकाले अझै पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेको बताएका छन् । जोखिमबारे विज्ञहरुकोसँग सुुझाबसमेत नलिइ सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेर गल्ती गरेको जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् ।
चैत ११ गते लकडाउन सुरु हुँदा दूई जनामा कोरोना संक्रमण भएको थियो । लक डाउन अन्त्यको घोषणा गरेको दिन साउन ७ गतेसम्म संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ । तिमध्ये ४२ जनाको मृत्यु भएको छ । तर सकारात्मक पक्षक के छ भनेसंक्रमितमध्ये १२ हजार ६ सय ८४ जनाको सफल उपचार भइसकेको छ । अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ६८ जना मात्रै रहेको छ ।
जोखिम अझै बाँकी रहेकाले सरकारले विभिन्न सेवा र कार्यमा भने अर्को सूचना नभएसम्म सञ्चालन गर्न नपाउने निर्णय गरेको छ । शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र,सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, मनोरन्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, धार्मिक तथा सामाजिक स्थल र पुस्तकालय, संग्रहालय र चिडियाखाना अर्को सूचना नभएसम्म सञ्चालन गर्न नपाइने भएको हो ।