काठमाडौं, ७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन् । उनले अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल अहिलेपनि मिलेरै अघि बढिरहेको विश्वास दिलाए । उनले भने, ‘व्यक्तिगत स्वार्थ कसैको छैन भने मिल्नुको विकल्प छैन् । मिल्दाखेरि नै देश निर्माण हुन्छ । पार्टी चाहीँ बलियो हुन्छ । जनता खुशी हुन्छन् । र, दृढतापूर्वक नवनिर्माणमा लाग्न सक्छन् । त्यसो भएको हुँदा मिल्नुको त विकल्पै छैन् नि ।’
बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँग कुरा गर्दै नेता गौतमले नेताहरुबीच मनमा चिसोपना भने रहने बताए । उनले भने,’किनकी मनहरु त फरक फरक छन् नि । मभित्रको मन एउटा छ, अर्कोभित्रको मन अर्कै छ । कहिलेकाहीँ त्यस्तो परिहाल्छ, टक्कर परिहाल्छ । त्यस्तो अवस्थामा मन चिसो भन्नेसँग कुनै मतलव छैन् । मन तातो पनि हुनुहुँदैन् । मन चिसो पनि हुनुहुँदैन् । मन मिल्छ । मिल्छ भन्नुको अर्थ कहिलेकाहीँ मन नमिल्नपनि सक्छ । नेता गौतमले नेकपाको महाधिवेशन मंसिरमा नभई चैत्रभित्र हुने दाबी गरे ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ या पर्दैन् भन्ने कुरा त्यो ओलीले नै जान्ने कुरा भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीको राजीनामा भन्ने अब आफ्नो माग नभएको पनि जिकिर गरे । उनले भने,’मैले यो माग उठाएको छैन् । यो पार्टीभित्रको विषय हो । बाहिर कसैले राजीनामा मागेको छैन् । हामीले प्रस्ताव बनाएरपनि प्रस्तुत गरेका छैनौं ।’