काठमाडौं, साउन ८ । आर्थिक वर्ष २०७६÷७७ मा अख्तियारले घुस रिसवतसम्बन्धी २ सय ५ वटा मुद्दा दायर गरेकामा ती मुद्दामा ६ करोड ९१ लाख ४९ हजार ७० रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
आर्थिक वर्ष २०७६(७७ मा जारी गरेको विज्ञप्ति र उसले विशेष अदालतमा दायर गरेको मुद्दाको विश्लेषण गर्दा स्टिङ अपरेसन प्रभावकारी भएको पाइएको छ । यद्यपि, राष्ट्रसेवक कर्मचारीमा घुस असुल्ने प्रवृत्तिमा भने कमी आएको छैन ।
अख्तियारले स्टिङ अपरेसन बढाए पनि कर्मचारीको घुस खाने प्रवृत्ति नरोकिँदा भ्रष्टाचार नियन्त्रण थप चुनौतीपूर्ण देखिएको हो । अहिले पनि अख्तियारको हिरासतमा रंगेहात पक्राउ परेका १८ जना छन् । रंगेहात पक्राउ परेका व्यक्तिका कारण हिरासत भरिएको अख्तियारले जनाएको छ ।
आयोगको हालसम्मकै इतिहासमा गत आर्थिक वर्षमा सबैभन्दा बढी ४ सय ४१ वटा मुद्दा दायर गरिएकामा घुस रिसवतसम्बन्धी मुद्दामा पनि अख्तियारले नयाँ रेकर्ड कायम गरेको हो । अख्तियारको एक वर्षको प्रगति विवरण समीक्षा गर्दा २ सय ५ वटा घुस रिसवतका मुद्दामा १ सय ८१ वटा स्टिङ अपरेसनका छन् । बाँकी २४ वटा मात्रै अन्य प्रकृतिका मुद्दा रहेका छन् ।
एक वर्षमा घुस रिसवतसम्बन्धी कारबाहीमा २०८ जना राष्ट्रसेवकसहित २७७ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको थियो
अख्तियारको वार्षिक प्रगतिलाई विश्लेषण गर्दा औसतमा एक मुद्दा बराबर ३ लाख ३७ हजार घुस लिएको देखिएको छ । एक वर्षको अवधिमा मात्रै घुस रिसवतसम्बन्धी कारबाहीमा २ सय ८ जना राष्ट्रसेवकसहित २ सय ७७ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको थियो ।
त्यस आवमा जम्मा २ सय ९६ दिन कार्यालय खुलेको हिसाबअनुसार प्रतिदिन एक जना व्यक्ति घुस रिसवत कारबाहीमा परेको पाइएको राजधानी दैनिकले खवर छापेको छ ।