Logo

सुनकोशी र तामाकोशी आसपासका बस्तीमा सुरक्षित रहन मौसम विज्ञान विभागको आग्रह



रामेछाप, ८ साउन। लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको सूचनानुसार अविरल वर्षासँगै ताल फुट्न सक्ने सम्भावना रहेको जानकारी गराउँदै जिप्रकाले सुनकोशी तथा तामाकोशी नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

नदी किनारका बासिन्दालाई सुरक्षित रहन र स्थानीय सरकारलाई पनि आवश्यक समन्वय गर्न जिप्रकाले आग्रह गरेको छ । जिप्रकाले ताल फुट्दा भोटेकोशी नदीमा पानीको बहाव बढेसँगै तामाकोशी र सुनकोशी नदीमा पनि बहाव बढ्नसक्ने जनाएको छ । जोखिममा रहेको ताल फुटेका अवस्थामा रामेछापका नवुघाट, बिर्ताघाट, चुकियाघाट, हर्दिनीघाट, कोरमाना, नवलपुरघाट, तल्लो खैरेनीटार, लुभुघाट, सित्खा डप्खा, पुच्छीघाट, राकाथुमको बेलघारीनजिकको घरधुरी, सुनापति गाउँपालिकाको दोभानटार, सिन्धुरेटार र च्याडीटार बस्ती जोखिममा पर्ने पूर्वानुमान गरिएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तामाकोशी र सुनकोशी आसपासका बस्ती उच्च जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरिएको जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजकसमेत रहनुभएका प्रजिअ शर्माले स्थानीय सरकारसँग आवश्यक समन्वय गरेर सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको जानकारी दिएका समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्