काठमाडौं, ८ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले पार्टी अध्यक्ष बन्न मरिहत्ते गरेको भनेर गरिएको कुरामा कुनै सत्यता नभएको भन्दै यसलाई हावादारीको संज्ञा दिएका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,’कति चोटी भन्दा पुग्छ एक हजार चोटी कि एक हजार आठ चोटी, गायत्री मन्त्रको जाप गरेपछि हुन्छ कि ? मैले पटक पटक भनेको छु है मेरो यो लडाई भनेको पार्टीलाई विधिबाट चलाउने कुरा हो । पार्टीाई पद्धतीमा चलाउने कुरा हो । पार्टीभित्रका कार्यकर्ताहरुमाथि अन्याय नहोस भन्नको लागि हो । सबैलाई न्यायोचित व्यवहार गरियोस भन्नको लागि हो । कसैको लहडको भरमा कसैलाई पाखा लगाईदिने र कसैलाई आफ्नो काखा राख्ने यस्तो प्रवृत्ति नहोस । मैले उठाएको कुरा यो नीतिगत कुरा हो ।’
पत्रकार धमलाले प्रधानमन्त्रीले अब राजीनामा दिनुपर्दैन् भन्ने तपाईहरुको भनाई हो भनेर सोध्दा नेता नेपालले भने-‘अब मैले त्यस्तो केही भनिरहेको छैन् अहिले कहाँ प्रधानमन्त्रीको राजीनामाको कुरा ? यहाँ हामी छलफल गरिरहेका छौं । कसरी हल गर्ने भनेर ? हामी उपायको खोजी गर्न सक्छौं ।’