Logo

मुग्लिन–नौबिसे सडकखण्ड भोली दिउँसोसम्म सञ्चालनमा आउन सक्ने



चितवन, साउन ८ । राजधानी काठमाडौँसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ । सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि राजमार्ग गत सोमबारबाट पूर्णरुपमा अवरुद्ध छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इ कृष्णराज अधिकारीका अनुसार मौवाखोलामा बुधबार बिहान खोला मूलधारमा पठाएर जालीको पर्खाल लगाउन थालिएको छ । विङवाल अर्थात पखेटे पर्खाल लगाउने काम राति अबेरसम्म गरिएको थियो । दिनभर ४२ जना मजदूरले पर्खाल लगाउने काम गरेका थिए । दिउँसोको समयमा नेपाली सेनाले पनि सहयोग गरेको उनले जानकारी दिए । आज बिहान सबेरैदेखि कामलाई निरन्तरता दिइएको छ ।

नुवाकोटबाट जालि झिकाएर स्थानीय ढुङ्गा भरेर पर्खाल लगाउने काम भइरहेको छ । दिनभरमा धेरै काम सम्पन्न हुने अपेक्षा गरिएको छ । सो सडकखण्डको मुग्लिनबाट नौबिसेसम्म २०० भन्दा बढी पहिरा खसेका थिए । ती पहिरो पन्छाउने र मर्मतसम्भार गर्ने काम तीव्र गतिमा भइरहेको उनले बताए। राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख मार्ग भएकाले सबैको ध्यान, चासो र सहयोग जुटेकै कारण कामले तीव्रता पाएको छ ।

ठाउँठाउँमा एकतर्फी सडक खुलाइएको छ । ती ठाउँमा मालबाहक ट्रक अव्यवस्थित ढङ्गले पार्किङ हुँदा काममा अप्ठ्यारो भएको उनले बताए । यता नारायणग–मुग्लिन सडकखण्डको चारकिलो र १६ किलोमा सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक विभागले हालका लागि राजधानी काठमाडौँ जान त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ । धेरै दिनसम्म राजमार्ग अवरुद्ध हुँदा अत्यावश्यक र मालबाहक सवारी प्रभावित बनेका छन् । यही साउन ४ गतेबाट देशैभर अविरल वर्षा भइरहेकोमा बुधबार दिउँसोबाट यस क्षेत्रमा वर्षा कम हुँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्