Logo

वामदेव गौतमको प्रश्न : कहाँ मैले केपी ओलीको राजीनामा माँगे ?



सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नमाँगिएको स्पष्ट पारेका छन् । उनले आफूले पनि व्यक्तिगत रुपमा ओलीको राजीनामा नमागेको जिकिर गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेकपाका शीर्ष नेताहरु एक ढिक्का भएर अघि बढ्ने र कतिपय विषय अहिलेपनि छलफलकै विषय भएकोले सोहीअनुसार आफूहरु अघि बढिरहेको स्पष्ट पारेका छन् । गौतमले नेकपा फुट्नेसमेत दाबी गरे । उनले भनेका छन्–‘नेकपा फुट्दैन । पुष्पलालले दिनुभएको बाटोमा हामी दृढतापूर्वक लागेका छौँ र हामी पुष्पलालको नेतृत्वमा निर्माण भएको पार्टीको सदस्य भएर लागेका छौँ । हामी सबै एकीकृत कम्युनिष्ट आन्दोलनमा लागेका हौं । यो पार्टी नफुटाएर दृढ भएर अगाडि बढ्ने हाम्रो लक्ष्य छ । पार्टी नफुट्नको निम्ति के गर्नुपर्छ, व्यक्तिगत रूपमा म त्यो गर्न तयार छु ।’ प्रस्तुत छ नेता गौतमसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पुष्पलाललाई कसरी सम्झनुहुन्छ ?

पुष्पलाल हाम्रो आस्था र विश्वासको धरोहर हो । पुष्पलालले देशको समृद्धिको लागि आफुलाई समर्पित गरेर उहाँले आफ्नो जीवनमा दुःख कष्ट सहेर पनि आन्दोलनलाई जारी राख्नुभयो । आज हामी उहाँले खनेको बाटोमा हिँडेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छाँै । हामी समाजवादतर्फ जाने प्रतिबद्धताले संकल्प सहितको संविधान जारी गरेका छौँ । यसमा मलाई विश्वास अरू बढी जागृत भएको छ । उहाँले देखाउनुभएको बाटोमा, उहाँको मार्गदर्शनमा नै हामीले यो ठाउँसम्म आफुलाई पु¥याएका हौँ । उहाँले सपना देख्नुभएको हामीले ७५ प्रतिशत पूरा गरेका छौँ । २५ प्रतिशत पूरा गर्न अब हामीलाई पाँच सात वर्ष लाग्छ । त्यसो भएर पुष्पलालको सपना पूरा गर्न पुष्पलालको बाटोमा हिँडेका हामीहरू गौरवान्वित भएका छौँ । हाम्रो जीवन हामीले आन्दोलनमा लगायौँ । हामीलाई कुनै पश्चाताप छैन । हामीले हाम्रो जीवन समर्पण गरेर ज्यादै ठुलो काम गरेका छौँ । हामीलाई बाटो देखाउनु हाम्रो पुष्पलाल हाम्रो लागि आदर्श हो । जीवनभरि उहाँले देखाएको बाटोमा हिँड्ने संकल्प मैले गरेको छु ।

पुष्पलाल श्रेष्ठले भन्नुभएको थियो, कम्युनिष्टको सरकार बन्नुपर्छ भनेर । कम्युनिष्टको बहुमतको सरकार बन्यो । यस सरकारको स्थायीत्व आजको आवश्यकता हो कि होइन ? तपाईहरू मिल्न सक्नुहुन्छ ? नेपाल कम्युनिष्ट पार्टी एकसाथ भएर अगाडि बढ्छ ?

बढ्छ, हामी बढिरहेका छौँ । पार्टीभित्र केही मतभिन्नताहरू छन् । ती मतभिन्नताहरू कहिले बाहिर आउँछन्, कहिले भित्रै रहन्छन् । कम्युनिष्ट पार्टीमा विवाद भएन भने पार्टी जीवितै हुँदैन । जनताको बीचमा पनि हामी हाम्रो मतभिन्नताहरू समाधानका लागि लैजान्छौँ । जसबाट हामी सही निष्कर्षमा पुगौँ । जनताले समर्थन गर्ने लायक बनौँ भन्नका निम्ति जनताले हामीलाई सही बाटो र निष्कर्ष दिनुपर्छ । त्यसको निम्ति हामी लागिरहेका छौँ । हाम्रो पार्टी अहिले पनि एकताबद्ध छ । तर पनि हाम्रा बीचमा केही समस्याहरू उत्पन्न भएका छन् । समस्याहरू समाधान गर्ने उपायहरूमा हामी लागिरहेका छौँ ।

समस्या समाधान हुन्छ ? पार्टी एक ढिक्का भएर अगाडि जान्छ ? पार्टी फुट्दैन ?

फुट्दैन, पुष्पलालले दिनुभएको बाटोमा हामी दृढतापूर्वक लागेका छौँ र हामी पुष्पलालको नेतृत्वमा निर्माण भएको पार्टीको सदस्य भएर हामी लागेका छौँ । हामी सबै एकीकृत कम्युनिष्ट आन्दोलनमा लागेका हौ । हामी यो पार्टी नफुटाएर दृढ भएर अगाडि बढ्ने हाम्रो लक्ष्य छ । पार्टी नफुट्नको निम्ति के गर्नुपर्छ, व्यक्तिगत रूपमा, म त्यो गर्न तयार छु ।

के.पी. शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपाल, ३ जना नेताहरूलाई सँगै मिलाएर लग्न सक्नुहुन्छ ?

मैले लिएर जाने होइन । हामी अहिले मिलेकै छौँ । हामी मिलेरै जानुपर्छ । व्यक्तिगत स्वार्थ कसैको छैन भने मिल्नुको विकल्प छैन । मिल्दाखेरि नै देश निर्माण हुन्छ । पार्टी बलियो हुन्छ । जनता खुशी हुन्छन् । दृढतापूर्वक नवनिर्माणमा लाग्न सक्छन् । त्यसो हुनाले मिल्नुको विकल्प नै छैन ।

मिल्नको लागि त मन पनि मिल्नुप¥यो । मनमा चिसोपन छ ?

चिसोपन हुन्छ । सबभन्दा प्रिय बसेकाहरूको बीचमा पनि चिसोपन हुन्छ । किनभने मन फरक–फरक छ । मभित्रको मन एउटा छ, अर्कोभित्रको मन अर्को छ । कहिलेकाहीँ त्यस्तो परिहाल्छ, टक्कर परिहाल्छ । त्यस्तो कुरामा मन चिसो भन्ने केही कुरा छैन । मन तातो पनि हुनुहँुदैन, मन चिसो पनि हुनुहुँदैन । मन मिल्छ । मिल्छ भन्नुको अर्थ के भन्दा मन कहिलेकाही नमिल्ने पनि हुन सक्छ । नमिल्ने भएर नै मिल्छ भन्ने शब्द निस्केको हो ।

मंसिरमा महाधिवेशन हुन्छ कि हुँदैन ?

चैतभित्र हुन्छ ।

त्यसो भए प्रधानमन्त्रीले अहिले राजीनामा दिनुपर्छ भन्ने पक्षमा तपाई हुनुहुन्छ कि हुनुहुँदैन ?

दिनुपर्छ कि पर्दैन भन्ने कुरा उहाँले जान्नुपर्ने कुरा हो । मेरो माग अब छैन ।

उसो भए प्रधानमन्त्रीको राजीनामा भन्ने कुरा अब वामदेव गौतमको माग होइन ?

होइन ।

प्रधानमन्त्रीले राजीनामा नदिए समाधान हुन्छ कि हुँदैन ?

होइन, समाधान हुन्छ कि हुँदैन थाहा छैन । मैले अहिले यो कुरा उठाएको छैन ।

तर, धेरै नेताहरूले राजीनामा मागिरहेका छन् ?

होइन कसैले पनि माग्नुभएको छैन । यो पार्टीभित्रको विषय हो, बाहिर कसैले मागेको छैन र प्रस्ताव बनाएर पनि प्रस्तुत गरेका छैनौँ ।

त्यसो भए राजीनामाको एजेण्डा सकियो पार्टीभित्र ?

पार्टीभित्र राजीनामाको एजेण्डा सकिने नसकिनेभन्दा पनि त्यो त पार्टीको विषय हो । मेरो विषय त्यो होइन अहिले ।

तपाई पार्टीमा नेताहरूलाई मिलाउने पक्षमा हुनुुहुन्छ ?

विल्कुल, विल्कुल ।

मिलेर जान्छन् ?

मिलेर जान्छन् ।

तपाई के.पी. शर्मा ओलीको गुटमा जानुभएको हो, पछिल्लो समयमा ?

म के.पी. कै गुटबाट निर्वाचित भएको थिएँ, नेकपा एमालेमा उपाध्यक्षमा । म उपाध्यक्षमा निर्वाचित भएर केन्द्रिय कमिटिको पहिलो बैठकदेखि मैले के.पी. लाई गएर भनेँ–अब म गुटमा छैन । निर्वाचित हुँदासम्म हामी अलग–अलग ठाउँबाट आएका हौ । अब कसैले गुट चलाउन हुँदैन, म कसैको गुटमा छैन । त्यसबेलादेखि आजसम्म म कसैको गुटमा छैन ।

किन पार्टी अध्यक्षको राजीनामा माग्नुभयो के.पी. शर्मा ओलीको ?

कहाँ मागें मैले ?

त्यसो भए प्रधानमन्त्री पनि पार्टी अध्यक्ष पनि के.पी. शर्मा ओली नै रहने महाधिवेशनसम्म ?

त्यो त उहाँले जान्ने कुरा हो । त्यो विषय हाम्रो छैन । अहिले त रहिरहनु त भएको छ । यो विषय सार्वजनिक बहसको विषय बनेकै छैन, हाम्रो पार्टीमा ।

तर निकै बन्यो, एक महिना हुन थाल्यो स्थायी समितिको बैठक बस्न लाग्यो ?

बनेन, पार्टीभित्र अनेक कुराहरू हुन्छन् । ती विषयहरू विभिन्न किसिमले बाहिर आएका छन् र त्यसलाई अतिरञ्जित गर्ने कामहरू भएका छन् । कतिपयले स्वेच्छाले तपाई यो छोडिदिनुस् भन्ने खालको विषय बनेको हो । हाम्रो पार्टीको एजेण्डा कहिले पनि बनेको होइन । कुनै पनि नेताले पार्टीको एजेण्डा बनाएर ल्याउनुभएको छैन ।

आउने महाधिवेशनमा तपाईलाई अध्यक्ष बनाउने प्रधानमन्त्रीको प्रस्ताव आएको हो, हिजो राति ?

आएको छैन । कहीँ आएको छैन । त्यो व्यक्तिगत रूपमा कसले के भनेको छ भन्ने कुराको केही अर्थ छैन् । के.पी. ले मलाई बोलाएर केही भन्नु नै भएको छैन ।

त्यसो भए तपाई प्रचण्डतिर कि माधवकुमार नेपालतिर कि ओलीतिर ?

प्रचण्ड, माधवकुमार नेपाल र के.पी.ओलीको एउटा गुट हामीले बनाएका छौँ, त्यसैमा म छु । म गुटबन्दीमा लाग्दिन् । म गुटबन्दीमा विश्वास गर्दिन । राम्रो विचार ल्याउनुभयो भने मेरो समर्थन हुन्छ । पार्टीलाई एकताबद्ध, गतिशील, लोकप्रिय बनाउने किसिमले तपाईहरू आउनुहुन्छ भने मेरो समर्थन हुन्छ । म त्यसकारण उहाँहरूसँगै बसेर छलफल गरिरहेको छु ।

तपाई झलनाथ खनाल र माधवकुमार नेपालतिर नै हुनुहुन्छ ?

म त धेरैसित छु । के.पीसँग पनि छु, प्रचण्डसित पनि छु, सबैसित छु । के.पी.ले बोलाउनुहुन्छ, म त्यहाँ जान्छु, प्रचण्डले बोलाउनुहुन्छ, म त्यहाँ जान्छु । यी दुईजना अध्यक्षहरूलाई गुट भनेर भनिदैँन । के.पी.ले बोलाउँदा के.पी. गुट, प्रचण्डले बोलाउँदा प्रचण्ड गुट हुँदैन हाम्रो पार्टीमा । म गुटमा छैन ।

स्थायी कमिटिबाट पनि संग्लो भएर निस्कन्छ नेपाल कम्युनिष्ट पार्टी ?

राजीनीतिमा नीति, विचार, सिद्धान्त, कार्यक्रम मिल्छ । मन मिल्ने भन्ने कसैले पनि भन्न सक्दैन । कैयौं यस्ता घटनाहरू घटेका छन्, जहाँ मन मिल्दैन ।



प्रतिक्रिया दिनुहोस्