बिर्तामोड, ९ साउन । झापामा सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर तीन जना बालकले ज्यान गुमाएपछि भद्रपुर – २ स्थित कमलधाप क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले अव्यवस्थित खाल्डो दलदलमा रूपान्तरण हुँदा तीन जना बालकको डुबेर मृत्यु भएपछि स्थानीय आक्रोशित बन्दा कमलधाप क्षेत्र तनावग्रस्त बनेको हो ।
तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ । भद्रपुर नगरपालिका– २ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङ्कुश तामाङ, साविक गरामनी गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको झापा प्रहरी प्रवक्ता डीएसपी थापाले जानकारी दिनुभयो । मृतक तामाङ एसियन स्टार बोडिङ स्कुल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए । प्रहरीका अनुसार बुधबार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा माछा मार्न तथा पौडी खेल्न तीनै जना बालकसँगै गएका समाचार आजको गोरखापात्रले प्रकाशन गरेको छ ।