Logo

कक्षा ११ को यस्तो बन्यो कार्यविधि



काठमाडौं, साउन ९ । कक्षा ११ मा परीक्षाको नाम माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याकंन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा सो विषय उल्लेख गरेको छ ।

विद्यालयबाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको कार्यविधिमा केही अधिकार बोर्डमा निहित गरिएको छ । बोर्डले परीक्षाको बारेमा चित्त नबुझेमा अनुसन्धान र अनुगमन गर्ने अधिकार राखेको छ ।

विद्यालयले दैनिक हाजिरी अभिलेख राख्नुपर्ने तथा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने उल्लेख छ । अब कक्षा ११ को परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्नुपर्नेछ ।

कार्यविधिको परिच्छेद ४ मा विद्यालयद्वारा सञ्चालन गरिने वार्षिक परीक्षा व्यवस्थापन, सञ्चालन, नतिजा प्रकाशन तथा प्रमाणीकरण समिति गठन गर्ने व्यवस्था गरेको छ । समितिमा विद्यालय र क्याम्पसको प्रधानाध्यापकरप्राचार्य अध्यक्ष रहने व्यवस्था छ ।

सदस्यहरुमा सम्बन्धित कक्षाशिक्षक र विषयगत शिक्षकमध्येबाट प्रधानाध्यापक र प्राचार्यबाट मनोनित शिक्षक सदस्य रहने व्यवस्था छ ।

समितिले प्रश्नपत्र निर्माण, परीक्षण र नतिजा प्रकाशन गर्नेछ । कार्यविधिमा विद्यार्थीले प्राप्त गरेको नतिजालाई गणना गरी विद्यार्थीको समग्र मूल्याङ्कन गर्नुपर्नेछ । विद्यालयले लिएको पहिलो, दोस्रो र तेस्रो परीक्षाको आधारमा मूल्याकंन गर्नुपर्ने व्यवस्था गरेको छ । प्रयोगात्मक परीक्षाको हकमा फरक विद्यालयका शिक्षकले परीक्षा लिनुपर्ने व्यवस्था गरेको छ ।

‘कार्यविधि लागू भएपछि सबै विद्यालयले आफ्नो अनुकूलताको आधारमा परीक्षा लिने बाटो खुला भएको छ’ –बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले भने। उनले कार्यविधि तयार भएपछि सोहीअनुसारको तयारी गर्न विद्यालयलाई सहज भएको बताएका हुन् । ।

बोर्डले कक्षा ११ मा छनोट गरेका विषयहरूको रजिस्ट्रेसन विवरण अद्यावधिक गर्ने, वार्षिक परीक्षाको अनुगमन तथा निरीक्षण गर्ने र गराउने, विद्यालयद्वारा निर्माण गरिएका प्रश्नपत्रहरू पाठ्यक्रमले तोकेको संरचना तथा विशिष्टीकरण तालिका अनुसार गर्न÷गराउन निर्देशन दिने अधिकार उल्लेख रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्