Logo

नेकपाको एकता महाधिवेशनबाट अध्यक्ष बन्न यी नेताहरुको तयारी



काठमाडौं, ९ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधानको सुत्रमध्ये ‘अर्ली महाधिवेशन’ रहेको छ । मंसिरभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेर अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा मागिरहेका समुहलाई रक्षात्मक अवस्थामा पुर्याइदिएका छन् । साथै, उनीहरुलाई महाधिवेशनको तयारीमा केन्द्रित बनाइदिएका छन् ।

ओलीले महाधिवेशन मंसिरमा गरौं भनेपनि चैत्रयता हुन नसक्ने उपाध्यक्ष बामदेव गौतमले बताइसकेका छन् । महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने ओलीको प्रस्ताव रहेको छ । तर, अहिले उनी अध्यक्ष र प्रधानमन्त्री दुवै त्याग्न तयार छैनन् ।

नेकपाको अबको महाधिवेशन एकताको पहिलो महाधिवेशन हुनेछ । राजनीतिक घटनाक्रम यताउता नभए महाधिवेशन २०७८ सालभित्र भइसक्ने बुझिएको छ । नेकपाको भावी अध्यक्षको दौडमा भने पाँचजना शिर्ष नेताहरु देखिएका छन् ।

प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरण गर्छु भनेपनि उनी अझै शक्तिशाली देखिएका छन् । ओलीले छाड्छु भन्दैमा छाडिहाल्नेमा नेकपाकै नेताहरुले विश्वास गरेका छैनन् । पूर्व एमालेभित्र ओलीको पकड निकै बलियो छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनमा अध्यक्ष बन्ने गरी सक्रिय छन् । उनले पार्टी एक गरेर धेरै त्याग गरेको बताउँदै आएका छन् । ओलीसँग राजनीतिक लेनदेनमा भावी अध्यक्षमा सहयोग गर्ने विषय पनि हुनसक्छ । तर, जनताको बहुदलीय जनवाद अंगिकार नगरी प्रचण्डलाई समर्थन गर्न ओली तयार छैनन् । पूर्व माओवादीको बलियो साथ भएकाले प्रचण्ड एकता महाधिवेशनपछिको एकल अध्यक्ष बन्ने दाउमा छन् । तर, उनले पछिल्लो समय पकड गुमाउँदै गएको देखिनथालेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालसँग स्थायी कमिटीमा बलियो पकड छ । पूर्व एमालेको महासचिव भइसकेका नेपाल अहिले ओलीलाई कडा चुनौती दिइरहेका छन् । उनी पूर्व एमालेभित्र बलियो समर्थनसहित अध्यक्ष बन्ने दाउमा छन् ।

अर्का वरिष्ठ नेता झलनाथ खनालको गुट कमजोर छ । तर, खनाल धेरैका प्रीय मानिन्छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनाल पार्टीभित्र प्रभावशाली नेताहरुको विवाद बढेमा नेतृत्व पाउनसक्ने अवस्था हुनसक्छ । उनले विगतमा पनि त्यसरी नै नेतृत्व हात पारेका थिए ।

उपाध्यक्ष बामदेव गौतमसँग सधै बलियो गुट हुने गरेको छ । पार्टीका पाँच शिर्ष नेतामध्ये उनीमात्र प्रधानमन्त्री भएका छैनन् । गौतमले भावी अध्यक्षको दाबी देखाइसकेका छन् । उनलाई नेकपाभित्रको दोस्रो तहका नेताहरुको बलियो साथ छ । पूर्व माओवादीभित्र पनि गौतम सहज मानिन्छन् । अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्दा गौतम पनि विकल्प हुनसक्छन् । विगतमा गौतमले ओलीलाई अध्यक्ष बन्न महत्वपूर्ण सहयोग गरेका थिए । उनलाई झलनाथ खनालले पनि साथ दिनसक्ने सम्भावना बलियो छ । तर, पूर्व एमालेबाट माधव नेपाल अगाडि बढेमा उनलाई नेतृत्वमा पुग्न कठिन हुनसक्छ ।

नेकपाभित्र अर्ली महाधिवेशनको विषय चलिरहँदा शिर्ष नेताहरुले भविष्यको तयारी शुरु गरिसकेको बुझिएको छ । निकटस्थलाई भेटेर रणनीति बनाउन थालिसकेकाले अब नेकपाभित्रको द्वन्द्व झन् पेचिलो बन्दै जाने देखिएको छ । एकल अध्यक्ष बन्ने महाधिवेशन भविष्यमा गर्नैपर्ने अवस्थामा शक्तिको बाँडफाँड र गुट विभाजनले नयाँ माहोल सृजना हुनसक्ने औल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot