Logo

राम्रोसँग कोरोना चेकजाँच भयो भने वीरगञ्जको स्थिति भयावह नै छ : मेयर सरावगी



वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले वीरगन्जमा कोरोना समूदायस्तरमा फैलिएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर सरावगीले भने,‘ अधिकतम अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मीहरूलगायत थुप्रै मानिसहरू अहिले कोरोना पोजिटिभ छन् । राम्रोसँग चेकजाँच भयो भने वीरगञ्जको स्थिति भयावह नै छ ।’ प्रस्तुत छ मेयर सरावगीसँग पत्रकार धमालले गरेको कुराकानीको सम्पादित अंश :

के छ खबर वीरगञ्जको ताजा अपडेट गराउनुस्, कोरोनाको संक्रमण समुदायमा बढ्न थालेको हो, वीरगञ्जमा ?

वीरगञ्जमा कम्युनिटि स्तरमा फैलिईसकेको छ । अधिकतम अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मीहरूलगायत थुप्रै मानिसहरू अहिले कोरोना पोजिटिभ छन् । राम्रोसँग चेकजाँच भयो भने वीरगञ्जको स्थिति भयावह नै छ ।

सरकारले केही सहयोग गरेको छैन ? डाक्टरहरूले काम गरिरहनु भएको छैन ? कसरी यो अवस्था आईपुग्यो त ?

हामीले एक घर एक परीक्षण भनेर ५०,००० जनाको परीक्षण गर्ने तयारी गरेका छौँ । १ हप्तादेखि हामीले कुरिरहेका छौँ कि के.एम.सी. काठमाडौँले एप्रुभल गरोस् भनेर । विपद्मा फटाफट काम हुनुपर्छ तर काठमाडौँले बाहिर एप्रुभल दिने काम भईरहेको छ । वीरगञ्ज महानगरपालिकाले आफ्नै खर्चमा २÷३ करोड खर्च गरेर टेस्ट गर्न चाहिरहेको छ । त्यो टेस्ट गर्न पनि इजाजत दिनमा हप्ता नै लगाइदिन्छन् । हामी इजाजत कुरेर बसिरहेका छौँ पहिलो कुरा । दोस्रो कुरा के छ भने हामी बोर्डर भएर १ नम्बर भएर जुन आउने जाने गरिन्थ्यो, अहिले क्वारेन्टाइनमा मान्छे आउँदैनन् । अहिले सिधा २ नम्बरबाट मान्छेहरू आउन जाने, त्यसले तस्करी पनि मौलाएको छ, दुनियाँभरको, चारैतिरबाट मान्छे पस्ने, निस्कने, यो सबै कुराबाट कम्युनिटि ट्रान्सफर त गराउँछ । किनभने हाम्रो छिमेकी भारतको शहरहरूमा नराम्रोसँग कोरोना फैलिएको छ । तेस्रो सबैभन्दा ठुलो समस्या यहाँ के छ भने पहिला विक भाइरस थियो, अहिलेको जुन भाइरसहरू आएको छ, त्यो भाइरसले गर्दा एकदमै लक्षण भएका स्थितिहरू आइरहेका छन् । त्यसकारणले यहाँ भयावह स्थिति छ ।

संक्रमितमा कडा निमोनिया छ भन्न थाले डाक्टरहरूले ? साँच्चिकै त्यही हो त अवस्था त्यहाँको ?

हो, एकदमै त्यही अवस्था हो । हामीले भनेका कुराहरू सायद उहाँहरूले कहिलेपनि मान्नुहुँदैन । हामीलाई थाहा छ, माथिबाट जुन कुराहरू आउँछ, त्यही गर्नुहुन्छ । हामीले यहाँ टुलुटुलु हेर्नुपर्ने अवस्था हो । जुन दिन लकडाउन खुल्यो, त्यही दिनदेखि मैले भनिरहेको थिएँ, कमसेकम चार जनालाई एक ठाउँमा उभिन नदिऔँ । निषेधाज्ञा लगाएर राखौँ भन्दाभन्दै पनि त्यो कुरा लागू गरिएन । अब जुन भयावह स्थिति भईहाल्छ, तब मात्र निषेधाज्ञा लगाउने, लकडाउनको फेरि कुरा गर्दा रहेछन् । कुनै कसैको प्लानिङ्ग छैन, लाइन अफ एक्सन छैन । यो न संघीय सरकार, प्रदेश सरकार न स्थानीय सरकार कसैसँग छैन । यसैले हामीले दुःख भोग्नुपरेको छ । यो दुःख अझ बढ्नेवाला छ ।

वीरगञ्जको कुरा गर्दाखेरि समस्या जटिलतातिर गईसक्यो ? बेलैमा हामीले सावधानी अपनाउन सकेनौँ भने भयावह स्थिति वीरगञ्जवासीले भोग्नुपर्ने अवस्था आयो ?

जब अस्पतालहरू नै संक्रमित भईसके । स्वास्थ्यकर्मी पनि संक्रमित भईसके र परिवारमा १० जनामा देखिन थालिसक्यो भने यसलाई कम्युनिटि ट्रान्सफर नै भन्छौँ हामीहरू । डाक्टरहरूले नै भनिसकेँ–यो कम्युनिटिमा गईसक्यो । यो नियन्त्रणभन्दा बाहिर भईसक्यो भन्ने कुरा आईसकेको छ ।

संक्रमित पनि भागिरहेका छन्, अस्पतालबाट भनेर पनि मलाई धेरैले भनेका छन् । वीरगञ्ज अस्पतालको कुरा गर्दा, नारायणी अस्पतालको कुरा गर्दा । कतिपय कलकत्ता पुगे भनेर पनि समाचार आइरहेको छ । के यो सही हो ?

एकदम सही हो यो कुरा । अब यो त परिणाम नै देखिरहेको छ । हिजोदेखि नै चालू भईसकेको छ, परिणाम । अझ भयावह स्थिति आउँछ योभन्दा पनि । कुन तरिकाले समाधान गर्ने हो, केन्द्र सरकार र प्रदेश सरकारको पोलिसी के छ ? अब सबै कुराहरू हामीलाई थाहा पनि हुँदैन । उहाँहरूले भित्रभित्र के के गर्नुहुन्छ, त्यो पनि थाहा हुँदैन । हेरौँ कसरी यिनीहरूले समाधान गर्छन्, यसलाई आउने दिनमा । मलाई लाग्छ अहिले तुरुन्तै निषेधाज्ञा लगाएर यसलाई नियन्त्रण गर्नुपर्छ र परीक्षण विधि सफल गर्नमा नेपाल सरकार, प्रदेश सरकार र लोकल सि.सि.एम.सि. ले पनि सहयोग गर्नुपर्छ ।

लकडाउनको अन्त्य भईसकेपछि समुदायमा देखिन थालेको हो, कोरोना ?

लकडाउनको अन्त्य भईसकेपछि जुन दिन कोरोना नै नभए जस्तो देखियो नि त्यही दिनदेखि हामी चिन्तित थियौँ, यस्तो अवस्था आउँछ भनेर । अहिले त्यसको परिणाम आईसकेको छ ।

के गर्दाखेरि समस्याको समाधान हुन्छ ? समुदायलाई बचाउन सकिन्छ ?

यसको समाधान के छ भन्दा हामी कम्युनिटि ट्रान्सफर कमभन्दा कम होस् भनेर बिना कामको मान्छेलाई बाहिर निस्कन नदिऔँ, एकै ठाउँमा ४ जनाभन्दा बढी मान्छे नआओस्, जुन हाम्रो प्रोटोकलहरू बनाइएको छ सुरक्षाका, मास्क लगाउनेदेखि लिएर सबै कुरामा कार्यान्वयन गराउन भूमिका निर्वाह गर्नुपर्छ । जुन दिनदेखि लकडाउन समाप्त भयो, जुन जुन निकायहरू यसमा लागेको छ, सुरक्षा निकाय, अब यो कोरोना सकियो भनेर भनिएको छ, त्यसलाई वापस हामीले रिभाइभ गर्न सक्यौँ भने त्यो कडाइका साथ जान सकियो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।

कन्ट्रोल गर्न सकिन्छ, त्यसो भए निषेधाज्ञा जारी गर्नुपर्छ ?

हो, एकदम त्यही गर्नुपर्लाजस्तो लाग्छ अहिलेको स्थितिमा ।

समस्याको समाधानको लागि अब कफ्र्यु लगाउनुपर्ने स्थिति आउन सक्छ ?

त्यो जरुरी छैन । निषेधाज्ञा लगाउनुपर्छ । निषेधाज्ञामा ४ जनाभन्दा बढी मानिस एकै ठाउँमा उभिन पाउँदैन । यसले गर्दा अलिकति कम्युनिटि ट्रान्सफर रोक्न सकिन्छ कि ? किनभने जति पनि मान्छे पोजिटिभ छन्, ती मान्छेहरूले कम्युनिटिमा प्रवेश गरिरहेका छन् । अहिले निमोनिया र ज्वरोका विरामीहरू निस्कन थालिसके । यसले गर्दा यहाँ थुप्रै अस्पतालहरू कन्ट्यामिनेट भईसकेका छन् । सबै अस्पतालका हेल्थ वर्करहरू कन्ट्यामिनेट भईसकेका छन् । यो खतनरनाक अवस्था छ । त्यसैले यहाँका चिकित्सक संघले पनि विज्ञप्ति निकालेर सबै अस्पतालहरू बन्द गर्ने, मात्र इमरजेन्सी चलाउने भनेर उनीहरूले विज्ञप्ति निकालिसकेका छन्, हिजो । अब हेरौँ कसरी अगाडि बढाउँछ, यहाँको लोकल प्रशासनले ? हामीसँग कत्तिको उहाँहरूसँग सहकार्य हुन्छ, हुँदैन ? उहाँहरूले गरेको कति निर्णयहरू ठिक छन्, छैनन् ? बुझेर नै हामी कदम अगाडि बढाछौँ । आशा गरौँ कि सबै राम्रो हुन्छ भनेर ।

सीमा शिल्ड भएको छ, भारतबाट आवतजावत भइरहेको छ ?

अन्तर्राष्ट्रिय सीमा त खोलेकै छैन । तैपनि हजारौँ मान्छेहरूको आवतजावत छ ।

रक्सौलबाट धेरै मानिसहरू आइरहेका छन् वीरगञ्जमा ? के यो सूचना सही हो ?

धेरै शक्ति चालू सक्रिय भईसके । धेरै लोकल भेन्डरहरू आइसके । जब उनीहरू लिगल च्यानलबाट आएको छैन भने पक्कै पनि अवैधानिक च्यानलबाट आए । उनीहरू आ–आफ्ना काममा गए । तिनीहरू कोरोना बोकेर नै आएका छन् भने हेर्नेवाला कोही महानुभाव छैन यहाँ ।

निजी अस्पतालले पनि काम गरिरहेको अवस्था छैन त्यहाँ ?

हिजो प्रेस विज्ञप्ति निकालेर डाक्टरहरूको एशोसियसनले के भनेको छ भने अब हामी कुनै पनि अस्पताल चलाउने स्थितिमा छैनौँ, अब इमरजेन्सी बाहेक सबै सेवा नचलाउने भनेर उनीहरूले प्रेस विज्ञप्तिमा जानकारी गराईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्