Logo

१४औं महाधिवेशनमा सिटौलाजी सभापति लड्नुहुन्छ, तयारी भैरहेको छ : प्रधान



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री भीमसेनदास प्रधानले १४औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला सभापतिमा उठ्ने स्पष्ट पारेका छन् । उनले सिटौला सभापति शेरबहादुर देउवाको क्याम्पतिर जाने भनेर आएका समाचारमा सत्यता नभएको पनि स्पष्ट पारेका छन् । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सिटौला १४औं महाधिवेशनको सभापतिको सशक्त उम्मेद्धवार भएको जिकिर गरे । कुराकानीको क्रममा प्रधानले भनेका छन्,‘सिटौलजीको क्याम्पमा गगन थापा, प्रदिप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाँई, विभिन्न जिल्लाका सभापति, तारामान गुरुङ्गदेखि लिएर धेरै साथीहरू जोडिएका छन् । अहिले उहाँसँग धेरै समय छ, अधिवेशनको तयारीका लागि । अब उहाँ हिँड्नुहुन्छ, विभिन्न साथीभाइहरू सल्लाह गरेर उहाँले एउटा निर्णय लिनुहुन्छ । अस्ति पनि होटल येल्लोमा केही पत्रकारको बीचमा कार्यक्रम गर्नुभयो । पार्टीलाई एउटा भिजनरी नेतृत्व चाहिन्छ । पार्टीलाई अहिलेको अवस्थामा वामपन्थीसँग भिड्नसक्ने नेतृत्व चाहिन्छ भनेर उहाँले साथीभाइको बीचमा कुरा राख्नुभएको छ । घोषणा त पछि गर्नुहुन्छ । उहाँले अब तयारी गरेकोजस्तो अनुभूति मलाई पनि भइरहेको छ । घोषणा केही समयपछि होला । विस्तारै रूपरेखा तयार हुन्छ ।’ प्रस्तुत छ प्रधानसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसको कुरा गर्दाखेरि तपाई कुन गुटमा हुनुहुन्छ ?

गुट भन्ने कुरा हुँदैन । अहिलेसम्म आइपुग्दा कांग्रेस पार्टीको यो १४औं अधिवेशन हो । आन्तरिक लोकतन्त्रको यो अधिवेशन राम्रो पक्ष हो । यसले नेतृत्व कायम गर्छ । पार्टीका विभिन्न तहका साथीहरू अधिवेशनबाट चुनावमार्फत नेतृत्वमा पुग्छन् । गएको चुनावमा ३ वटा समूह लडेको छ । त्यो बेलामा हामी वैचारिक समूह भनेर सिटौला समूहमा हामी आबद्ध थियौँ । दोस्रो राउण्डमा हामी अहिलेका पार्टी सभापति शेरबहादुर देउवा समूहलाई हामीले भोट खसालेर उहाँलाई जिताएको प्रसंग छ । यसपालि पनि ३ ओटै समूह उठ्ने प्रबल सम्भावना देखिन्छ । म त्यही बेलामा सिटौला समूहबाट मन्त्री पनि भएँ । हिजो नै उहाँले सबै साथीभाइ भेटघाट गन एउटा सम्पर्क कार्यालय खोल्नुभएको छ । यो त आन्तरिक चुनाव हो ।

सम्पर्क कार्यालयमा आजबाट त्यहाँ गतिविधि र बैठक हुँदैछ ?

कोरोना भाइरसले गर्दा घरमा पनि समस्या हुने भयो । त्यसैले बाहिर अफिस लिएर बस्ने हिसाबले, साथीभाइ बाहिर नै भेट्ने हिसाबले घरनजिकै एउटा कार्यालय खोल्नुभएको छ ।

सम्पर्क कार्यालय कृष्णप्रसाद सिटौलाजीले खोल्नुभएको छ । आज तपाईहरूको बैठक हुँदैछ ?

आज साथीभाइसँग भेटघाटमात्र हो । बैठक त रेगुलर जस्तै हुन्छ नि हाम्रो त । विभिन्न इस्युमा कसरी जाने ? क्रियाशील विषयमा यी सबै कुरामा छलफल हुन्छ । अभियानमा लाग्ने, अब चुनाव जित्न त देश दौडाहा पनि गर्नुप¥यो, त्यसले कार्यतालिकाहरू निश्चित् हुन्छ । त्यसपछि कार्यक्रमको हिसाबमा उहाँ जानुहुन्छ ।

त्यसो भए आजबाट तपाईंहरुले गतिविधि सञ्चालन गर्दै हुनुहुन्छ ? कृष्णप्रसाद सिटौलाले किन शेरबहादुर देउवाको क्याम्प जानको लागि तयार गर्नुभयो त ?

क्याम्पतिर जाने भन्ने कुरा होइन ।

फेरि पनि तपाईहरूको कुरा शेरबहादुर देउवासँग भईरहेको छ अरे ?

कुरा त सबैसँग भईरहको छ । उहाँसँग भएको कार्यक्षमता, भिजन, कार्यशैलीले वैचारिक समूहको तेस्रो पोलको रूपमा उठ्नुभयो । फागुन ७, ८, ९, १० मा अधिवेशन हुँदा झन्डै ८÷९ महिनाको समय छ । त्यसबीचमा उहाँ अभियानमा देशव्यापी रूपमा दौडाहा गरेर आफ्नो शक्ति सञ्चित गर्नुहुन्छ । पहिलेको भन्दा यसपालि उहाँको पोजिसन राम्रो छ ।

कस–कसले साथ दिएको छ, कृष्णप्रसाद सिटौलालाई पार्टीभित्र ?

पहिलो राउण्डमै ५१ प्रतिशत कसैले ल्यायो भने त्यो सकियो, जसले ल्यायो ऊ सभापति भयो । जसले ल्याएन दोस्रो राउण्डमा चुनावबाट निर्धारण हुन्छ । उहाँ त अहिले मै जित्छु भनेर लागिरहनु भएको छ ।

कृष्णप्रसाद सिटौला फेरि पनि पार्टी सभापति बन्नुहुन्छ, १४औं  महाधिवेशनमा ?
उहाँले घोषणा गर्नुभएको छैन । केही दिनपछि घोषणा होला । मंसिरसम्मको समय छ । छानविन समितिले केन्द्रिय कार्यसमिति बोलाएर निर्वाचन आयोगमार्फत आएपछि पौष ६ देखि माघ ६ सम्म गाउँ तहदेखि लिएर प्रदेश तहसम्म अधिवेशन सकिएपछि केन्द्रको अधिवेशन ७, ८, ९ मा हुन्छ । उहाँ त अहिले अभियानमा हिँड्नुभएकै छैन नि ।

सम्भावना के छ ?

हामीसँग आन्तरिक छलफल हुँदाखेरि उहाँ एउटा समूहको सशक्त नेता पनि हो । त्यसकारणले उहाँ उठ्नुहुन्छ ।

रामचन्द्र पौडेलको समूहमा उहाँ मिसिने कुरा थियो । किन कुरा मिलेन ?

एजेण्डा उहाँसँग मिल्ने हो । विधानमा उहाँले उठाएको कुरालाई साथ दिनुभएको हो । तर, रामचन्द्र पौडेलसँग मिसिनु भएको छैन । उहाँ शेरबहादुर देउवासँग पनि मिसिनु भएको छैन । यही अधिवेशनमा उहाँले नै निर्णय गर्ने हो, कसरी जाने भनेर । नत्र त यो अधिवेशन पनि सर्नसक्ने पक्षमा थियो ।

रामचन्द्र पौडेलकै गठबन्धनमा रहने भनेर उहाँले भन्नुभएको थियो ?

होइन, त्यस्तो भन्नुभएको छैन, उहाँले । बैठक व्यापकता पहिले नै केही मतान्तर भईसकेपछि त्यो एजेण्डवाइज पौडेलजीसँग उहाँको सानिध्यता देखिएको हो । तर उहाँको जुन वैचारिक दृढता छ, उहाँ त्यसैमा अडिरहनु हुन्छ । उहाँ कतै मिसिनुभएको छैन र मिसिनेवालामा हुनुहुन्न । मैले उहाँसँग कुरा गर्दाखेरि उहाँ आफ्नै स्ट्याण्डमा हुनुहुन्छ ।

कृष्णप्रसाद सिटौलाले नयाँ क्याम्प गठन गरेर जाने र आउने अधिवेशनमा उम्मेदवारी दिने सभापतिमा, विजय हुने रणनीति बनाउनुभयो ?

उहाँको क्याम्पमा गगन थापा, प्रदिप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाँई, विभिन्न जिल्लाका सभापति, तारामान गुरुङ्गदेखि लिएर धेरै साथीहरू जोडिएका छन् । अहिले उहाँसँग धेरै समय छ, अधिवेशनको तयारीका लागि । अब उहाँ हिँड्नुहुन्छ, विभिन्न साथीभाइहरू सल्लाह गरेर उहाँले एउटा निर्णय लिनुहुन्छ । अस्ति पनि होटल येल्लोमा केही पत्रकारको बीचमा कार्यक्रम गर्नुभयो । पार्टीलाई एउटा भिजनरी नेतृत्व चाहिन्छ । पार्टीलाई अहिलेको अवस्थामा वामपन्थीसँग भिड्नसक्ने नेतृत्व चाहिन्छ भनेर उहाँले साथीभाइको बीचमा कुरा राख्नुभएको छ । घोषणा त पछि गर्नुहुन्छ । उहाँले अब तयारी गरेकोजस्तो अनुभूति मलाई पनि भइरहेको छ । घोषणा केही समयपछि होला । विस्तारै रूपरेखा तयार हुन्छ ।

रामचन्द्र पौडेल र शेरबहादुर देउवा पनि उम्मेदवारी दिएर मैदानमा आउने कुरा भएको छ । यो अवस्थामा प्रतिस्पर्धा सिटौलाको कोसँग होला ?

३ जनासँगै हुन्छ । प्रतिस्पर्धामा को पहिला, दोस्रो हुन्छ भन्ने कुरा पार्टीको आन्तरिक विधानका साथ लड्ने हो । जोपनि लड्न पाउँछ । महासमितिको सदस्य भइसकेको मान्छे पार्टी सभापतिदेखि सबै पदमा लड्न पाउँछ । आफ्नै पार्टीको आन्तरिक विधानलाई सुदृढीकरण गर्नका लागि चुनाव हुने हो । त्यो लड्ने त स्वचालित रूपमा बन्छ । जसको विचार राम्रो छ, उसको पछाडि कार्यकर्ता जोडिदै जान्छन् । उहाँले भिजनसहितको घोषणापत्र ल्याउनुहुन्छ होला । कार्यकर्ताको बीचमा आफ्नो एजेण्डाहरू प्रस्तुत गर्ने, चुनावबाट सभापति जित्ने हो ।

उसो भए फागुनमै अधिवेशन हुन्छ भन्नेमा तपाईलाई विश्वास छ ?

अधिवेशन केन्द्रिय कार्यालयबाट सर्वसम्मत ढंगले निर्णय गरेको हो । केन्द्रिय कार्यसमितिबाट सहमति भएन भने अलि पर सार्ने नभए त्यसलाई नै अनुमोदन गर्ने भन्ने हिसाबमा कार्यतालिका निस्किसकेको छ । श्रावण मसान्तसम्म जिल्ला हूँदै केन्द्र तहसम्म पुग्ने र फागुनको अन्तिमसम्म सबै सक्नेगरी पुस ६ देखि माघको ६ सम्म हुन्छ ।

६ महिना पर पनि सर्न सक्छ ? सम्भावना के छ ?

विषम परिस्थिति भयो भने निर्वाचन आयोगमा निवेदन दिएर ६ महिना सार्न सकिन्छ । यो संविधानसम्मत कुरा हो । पार्टीलाई त्यो अधिकार दिइएको छ ।

अहिले विभागहरू गठनमा तपाई कता हुनुहुन्छ, शेरबहादुर देउवातिर कि रामचन्द्र पौडेलतिर ?

विभागमा भागबण्डा नै भएको छ । एउटा पक्षले स्वीकारेको छैन । एउटा पक्षले अहिले अधिवेशन आइसक्यो, विभाग किन चाहियो ? भन्ने कुरा गरेका छन् । पार्टीमा एउटा विभाग पनि गठन गर्न नसक्ने भन्ने विवाद आउन सक्छ भनेर उहाँले विभाग गठन गर्दै हुनुहुन्छ । विभागहरू गठन हुने क्रममा छ ।

कृष्णप्रसाद सिटौला विभाग गठन गर्ने पक्षमा नै हुनुहुन्छ । उहाँले भन्नुभएको छ शेरबहादुर देउवालाई–तपाई म साथ दिन्छु भनेर ।

विभाग गठन गर्ने भन्ने कुरामा सहमत र असहमत दुवै छैन भन्ने उहाँको लाइन हो । अहिले अधिवेशनको समयमा विभाग गठन गर्दाखेरि नकारात्मक सन्देश जाला । अधिवेशनलाई विवादमा पार्ने किसिमको शंको घेरा हुनसक्छ । शुशील कोइरालाको बेलादेखि पनि भागबण्डाको राजनीति अगाडि बढ्यो । भागबण्डाहरू खोजेर शुशील दाइले धेरै कामहरू अड्काएका थिए । अहिले त्यही रोग रामचन्द्र पौडेलले समात्नुभएको छ । अधिवेशनमा जो जित्यो, उसलाई निर्बाध रूपमा काम गर्न दिनुपर्छ । त्यो डेमोक्रेसी, प्रजातन्त्र हो । लोकतन्त्र पद्धति पार्टीमा त्यति हाबी भएन । भागबण्डाको राजनीति हाबी भयो । भागबण्डा भनेको लोकतन्त्र पद्धतिको विपरीत कुरा हो । त्यसले गर्दा पार्टी कमजोर भएको अवस्था हामी सबैले महशुस गरेका छौँ । उहाँहरूले यो भागबण्डाको राजनीति अन्त्यको घोषणा गर्नुपर्छ । यसले कमजोर बाहेक पार्टीलाई कही पनि पु¥याउँदैन । मेरो मान्यता के छ भने भागबण्डाको राजनीति अन्त्य हुनुपर्छ । जो जिता वही शिकन्दर, डेमोक्रेसीमा । त्यो पो हुनुपर्छ अनि हारेपछि भागबण्डा ?

यसपटक ३ जना नेताको पार्टी सभापतिको लागि प्रतिस्पर्धा हुँदैछ ? शशांक कोइराला, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाको बीचमा, के यो सही हो ? सभापतिमा आफू नउठेर देउवाले विमलेन्द्रलाई निधिलाई अगाडि बढाउन पनि सक्नुहुन्छ नि ?

विमलेन्द्र निधि आफै उठ्न सक्नुहुन्छ नि । जसलाई पनि अधिकार छ, पार्टी सभापतिमा उठ्ने अधिकार छ । सबै नेता–पुत्रहरू पनि लागिरहेका छन् । प्रकाशमान, गणेशशमानजीको पुत्र, हाम्रो शशांक कोइराला वी.पी. कोइरालाको पुत्र हुनुहुन्छ ।

३ जना नेताहरूको सुपुत्रहरूलाई उम्मेदवार बनाउँदा के होला ?

पार्टीमा छलफल हुनुप¥यो । सबैको सहमति हुनुप¥यो । सहमत हुने अवस्था अधिवेशनमा देखिँदैन । किनभने पार्टी सभापति पनि त्यही हिसाबमा लाग्नुभएको छ । रामचन्द्र दाइ पनि उठ्छु भनेर लाग्नुभएको छ । विमलेन्द्र जीको त्यति बाहिर आएको छैन, म उठ्छु भन्ने कुरामा । उहाँको आन्तरिक कुरा भइरहेको होला । प्रकाशमान र शंशाकजीको कुरा आएको छ । उहाँहरूको छलफलको क्रम पनि बढेकै छ तर विमलेन्द्रमा अहिलेसम्म सुन्नमा आएको छैन । उहाँ शेरबहादुर जीको कमिटिको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले आफ्नो कामहरू गरिराख्नु भएको छ । वैचारिक रूपमा पार्टी फुटिसकेपछि २ ओटा पक्ष देखिएको हो । एउटा शेरबहादुर देउवा र अर्को पुराना संस्थापन शुशील कोइराला र गिरीजाप्रसाद कोइरालाको पुरानो गुट छ । सबै आफ्नो कुरामा टाँसिएको अवस्था छ । त्यो नहुनु पर्ने हो । भागबण्डाको राजनीतिले गर्दाखेरि कांग्रेसका समर्थक पनि चिन्तित छन् । कांग्रेसप्रति शुभेच्छा राख्ने साथीहरू पनि चिन्ता लिइरहेको गाउँदेखि शहरसम्म जो कांग्रेसलाई मत दिएकाहरू पनि चिन्तामा छन् । त्यसकारण पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ भएको अवस्था छैन । त्यो सुदृढीकरण विस्तारै होला । अहिले आन्तरिक लोकतन्त्रलाई अधिवेशनले सुदृढ गर्छ । तर हारेपछि प्रतिशत माग्ने ? मैले त भनेको छु, जसले जति भोट ल्याउँछ, त्यसमा समानुपात ल्याऔँ । विधानमा हुनुप¥यो नि भागबण्डाको बारेमा । गएको चुनावमा रामचन्द्र पौडेलले ३४/३५ प्रतिशत भोट ल्याउनुभएको छ । शेरबहादुर देउवाले ६२ प्रतिशत भोट ल्याउनुभएको छ भने त्यही आधारमा भागबण्डा गरे हुन्छ । त्यो कही हुन्छ लोकतन्त्रमा ? हारेपछि भागबण्डा ? त्यसैले सबैभन्दा खराब काम भागबण्डा भइरहेको छ, पार्टीभित्र ।



प्रतिक्रिया दिनुहोस्