Logo

महाधिवेशनलाई लक्षित गरी सिटौलाले खोले सम्पर्क कार्यालय, आजबाट भेटघाट सुरु



काठमाडौं, ९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेको १४औं महाधिवेशनमा सभापतिमा लड्नेगरि नेता कृष्णप्रसाद सिटौलाले अभियान सुरु गरेका छन् । उनले हिजोमात्रै काठमाडौंमा सम्पर्क कार्यालय खोलेको सिटौला पक्षधर नेता तथा पूर्व उपप्रधानमन्त्री भीमसेनदास प्रधानले जानकारी दिएका छन् ।

प्रधानले नेता सिटौला कसैको क्याम्पमा नगएको जिकिर गरे । उनले सिटौला १४औं महाधिवेशनको सभापतिको लागि सशक्त उम्मेद्धवार भएको जिकिर गरे । पत्रकार ऋषि धमलासँगको कुराकानीको क्रममा प्रधानले भनेका छन्,‘सिटौलजीको क्याम्पमा गगन थापा, प्रदिप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाँई, विभिन्न जिल्लाका सभापति, तारामान गुरुङ्गदेखि लिएर धेरै साथीहरू जोडिएका छन् । अहिले उहाँसँग धेरै समय छ, अधिवेशनको तयारीका लागि । अब उहाँ हिँड्नुहुन्छ, विभिन्न साथीभाइहरू सल्लाह गरेर उहाँले एउटा निर्णय लिनुहुन्छ । अस्ति पनि होटल येल्लोमा केही पत्रकारको बीचमा कार्यक्रम गर्नुभयो । पार्टीलाई एउटा भिजनरी नेतृत्व चाहिन्छ । पार्टीलाई अहिलेको अवस्थामा वामपन्थीसँग भिड्नसक्ने नेतृत्व चाहिन्छ भनेर उहाँले साथीभाइको बीचमा कुरा राख्नुभएको छ । घोषणा त पछि गर्नुहुन्छ । उहाँले अब तयारी गरेकोजस्तो अनुभूति मलाई पनि भइरहेको छ । घोषणा केही समयपछि होला । विस्तारै रूपरेखा तयार हुन्छ ।’

उनले आफू सिटौलाकै गुटमा रहेको पनि स्पष्ट पारे । धमलाले तपाई कुन गुटमा हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा प्रधानले भने,‘गुट भन्ने कुरा हुँदैन । अहिलेसम्म आइपुग्दा कांग्रेस पार्टीको यो १४औं अधिवेशन हो । आन्तरिक लोकतन्त्रको यो अधिवेशन राम्रो पक्ष हो । यसले नेतृत्व कायम गर्छ । पार्टीका विभिन्न तहका साथीहरू अधिवेशनबाट चुनावमार्फत नेतृत्वमा पुग्छन् । गएको चुनावमा ३ वटा समूह लडेको छ । त्यो बेलामा हामी वैचारिक समूह भनेर सिटौला समूहमा हामी आबद्ध थियौँ । दोस्रो राउण्डमा हामी अहिलेका पार्टी सभापति शेरबहादुर देउवा समूहलाई हामीले भोट खसालेर उहाँलाई जिताएको प्रसंग छ । यसपालि पनि ३ ओटै समूह उठ्ने प्रबल सम्भावना देखिन्छ । म त्यही बेलामा सिटौला समूहबाट मन्त्री पनि भएँ । हिजो नै उहाँले सबै साथीभाइ भेटघाट गन एउटा सम्पर्क कार्यालय खोल्नुभएको छ । यो त आन्तरिक चुनाव हो ।

कोरोना भाइरसले गर्दा घरमा पनि समस्या हुने भएकोले सिटौलाले बाहिर अफिस लिएर बस्ने हिसाबले, साथीभाइ बाहिर नै भेट्ने हिसाबले घरनजिकै एउटा कार्यालय खोलेको प्रधानले जानकारी दिएका छन् । उक्त सम्पर्क कार्यालयमा सिटौलाले आज साथीभाइसँग भेटघाटमात्र गर्ने तर भोलिबाट बैठक त रेगुलर जस्तै हुने जनाए । उनले भने,‘हामीअ अब रेगुलर बैठक बस्छौं । विभिन्न इस्युमा कसरी जाने ? क्रियाशील विषयमा यी सबै कुरामा छलफल हुन्छ । अभियानमा लाग्ने, अब चुनाव जित्न त देश दौडाहा पनि गर्नुप¥यो, त्यसले कार्यतालिकाहरू निश्चित् हुन्छ । त्यसपछि कार्यक्रमको हिसाबमा उहाँ जानुहुन्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot