काठमाडौं, ९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद रामहरि खतिवडाले पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । उनले उक्त घट्नाको घोर निन्दा गर्दै घट्नामा संलग्न अपराधीहरुलाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेका हुन् ।
रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा खतिवडाले भने,‘आजको २१औं शताब्दीमा पनि एसिड प्रहार हुनु दुःखद् छ । कानूनी राज्यको उपहास भएको छ। यो जघन्य अपराध हो । यस्तो अपराधमा संलग्नलाई कडाभन्दा कडा काबराही हुनुपर्छ । म सरकारको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु । मान्छेको जीउधनको सुरक्षा सरकारले लिनुपर्छ । ती बहिनीको गाँस, बासको जिम्मेवारी पनि सरकारले लिनुपर्छ ।’
बिहीबार साँझ एसिड प्रहार भएपछि कार्कीको उपचार कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा भैरहेको छ । उनलाई भेट्न खतिवडा आज अस्पताल पुगेका हुन् । बिहीबार साँझ पौने ८ बजे नागार्जुन नगरपालिका–४ सृजनशील टोलमा ओखलढुङ्गाकी २२ वर्षे पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो। एसिड प्रहार गरिएकी पवित्राको गाला, हात र कपालमा एसिड परेको छ। पवित्राको उपचारमा डा. शंकरमान राई संलग्न छन् । घटनाका दोषी रौतहट लक्ष्मीपुर घर भइ काठमाडौंस्थित् डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद पक्राउ परिसकेका छन् । तस्विर : ईश्वर कार्की, रिपोर्टर्स नेपाल डटकम