नाम : प्रा.डा. हेमनाथ पौडेल
पिता/माता : पशुपति पौडेल र कृष्णमाया पौडेल
अध्ययन : स्नातकोत्तर (प्रथम श्रेणी) र विद्यावारिधि (पीएच्डी) समकालीन नेपाली कविता विषयमा
प्रथम प्रकाशित रचना ” ‘सरस्वती वन्दना’ (कविता) विक्रम सम्वत् २०३२
प्रकाशित कृतिः
(१)कृष्णमणि साहित्य पुरस्कारद्वारा सम्मानित स्रष्टाहरू (वि.सं. २०६४),(२) भाषा साहित्यका दुई हस्ती (२०६४), (३) प्रगतिवादी दृष्टिमा कवि र कविता (२०६५),(४) सन्दर्भपरक समालोचना (२०७०), (५) भाषा विज्ञान र नेपालका भाषाहरू (२०७०), (६) प्रगतिवाद र कवितासम्बन्धी मान्यता(२०७५), (७) कविता समालोचना (२०७५), (८) नेपाली प्रगतिवादी कविता ः इतिहास र प्रवृत्ति (२०७५),(९) समीक्षा र भूमिका(२०७५), (१०) पारिभाषिक शब्दपरिचय(२०७५),(१०) चिन्तन र संस्मरण (२०७५)(११) लिम्बू जातिमा प्रचलित लोकगीतिनृत्य धाननाच(२०७५) विभिन्न पत्रिकामा भाषा र साहित्यसँग सम्बन्धित दर्जनौं अनुसन्धानात्मक लेख र समालोचना प्रकाशित
प्रकाशनोेन्मुख कृति : एउटा कविता सङ्ग्रह रतीनवटा समालोचना कृति
यहाँको साहित्य लेखन कहिलेबाट सुरु भएको हो ?
साहित्यमा मेरो लेखनको मूल विधा समालोचना हो । निबन्ध, कविता र कथा पनि मैले लेख्ने गरेको छु । लेखनको सुरुवातचाहिँ कविताबाटै भएको हो । वि.सं. २०३२ मा हिमज्योति पत्रिकामा प्रकाशित ‘सरस्वती वन्दना’ कविता र २०३७ मा पिपल पत्रिकामा प्रकाशित ‘कान्छी पाथी’ कथाबाट मेरो विधागत लेखन सुरु भएको हो । यसपछि मैले २०४२ बाट समालोचनामा कलम चलाएको हँु । मेरा सैद्धान्तिक र व्यावहारिक समालोचनाका तथा निबन्धका गरी एक दर्जन कृति प्रकाशित छन् भने समय÷समयमा लेखिएका कविताको सङ्ग्रह र तीनवटा समालोचना कृति प्रकाशनोन्मुख अवस्थामा छन् ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
मेरो साहित्यिक यात्रा पठनपाठनकै क्रममा अघि बढेको हो । मैले एउटा कुनै निश्चित व्यक्तिबाट भन्दा पनि राम्रा र असल विचार बोकेका स्रष्टा र सृष्टिबाट प्रभाव ग्रहण गर्ने गरेको छु ।
कसरी बढिरहेको छ त लेखन गतिविधि ?
अहिले म नेपाल प्रज्ञाप्रतिष्ठानमा पद्य/काव्य विभागको प्रमुखको जिम्मेवारीमा छु । त्यो जिम्मेवारीमा रहेर गर्नुपर्ने प्राज्ञिक कार्य– अध्ययन, अनुसन्धान र गोष्ठीमा बढी समय बितिरहेको छ । यसबाहेक आफ्नो लेखन पनि अघि बढिरहेकै छ ।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
जे लेखिएको र गरिएको छ– त्यसप्रति त सन्तुष्टि नै छ तर अझै धेरै सृजना र समालोचना गर्न बाँकी छ । पूर्ण सन्तुष्टि भयो भने त अघि बढ्ने क्रम नै रोकिन्छ नि ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
एउटा नेपाली कविताको इतिहास र समसामयिक नेपाली व्याकरणको कृति तयार गर्ने विचारमा छु तर केही समय लाग्छ ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
साहित्य र स्रष्टाप्रति राज्यको गहन जिम्मेवारी हुन्छ । स्रष्टाले सहज रूपमा सृजना गर्नसक्ने वातावरण राष्ट्रले नै बनाइदिने हो । जुन मुलुकमा साहित्य र कलाको विकास भएको हुन्छअनि जहाँ स्रष्टाकोकदरएवं मान–सम्मानहुन्छ–त्यस्तो मुलुकको सबैले इज्जत गर्छन् । राज्यको समृद्धिको सूचकमा भाषा साहित्य र कला पनि पर्दछन् ।
तपाईंको साहित्यिक आदर्श के हो ?
साहित्य समाजको दर्पणमात्र होइन– रूपान्तरणको माध्यम पनि हो । म साहित्यमा वैचारिक लेखनका पक्षमा छु । विचारबेगरको साहित्य हुँदैन भन्ने मेरो विचार छ । त्यसैले म समाजका यथार्थलाई कथ्य विषय बनाई त्यसकोे अग्रगामी परिवर्तन र रूपान्तरणका पक्षमा साहित्य लेखिनुपर्छ भन्ने विचार राख्छु ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
गर्ने र नगर्ने दुवै छन् । लेखक समाजका यथार्थप्रति राम्ररी परिचित हुनुपर्छ र ऊसधैं आलोचनात्मक पनि रहनुपर्छ। आलोचनाका माध्यमबाट समाजका राम्रा/नराम्रा पक्षको उत्खनन गरी राम्रा पक्षको समर्थन र नराम्रा पक्षप्रति प्रहार एवं आलोचना भएन भने समाज अघि बढ्न सक्दैन । समाजलाई अग्रगमनको बाटोमा डो¥याउने काममा राजनीतिलाई साहित्यले सघाउ पु¥याउनुपर्छ अनि मात्र लेखकीय दायित्व पूरा हुन्छ। साहित्य स्वान्तःसुखायको विषयमात्र होइन– समाजको अग्रगमन र परिवर्तनको माध्यम पनि हो ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
साहित्य समाजको उपज भएकाले समयको गतिसँगै यसको सार र रूपमा पनि परिवर्तन हुन्छ । त्यसैले साहित्यलाई समयसापेक्ष रूपमा हेर्नुपर्छ ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
जीवनमुखी, परिवर्तनधर्मी, सहज सम्प्रेषणयुक्त, सन्देशमूलक र अन्तर्वस्तु र रूपका बीच सन्तुलित साहित्य आजको आवश्यकता हो ।
लेख्ने पे्ररणा केबाट प्राप्त हुन्छ जस्तो लाग्छ ?
जीवन र जगत् नै साहित्य सृजनाको प्रेरक तत्त्व हो । स्रष्टालाई जीवन जगत्का सुरूप र कुरूप यथार्थले संवेदनशील बनाएपछि ऊ त्यसलाई अभिव्यक्त गर्नतिर लाग्छ ।
तपाईंको लेख्ने निश्चित समय छ कि ?
म बढीजसो राति सबै सुतेपछि लेख्छु । त्यो समय एकदमै शान्त र लेखनका लागि उपयुक्त हुन्छ ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
तनाबमुक्त अवस्था, एकान्त र शान्त वातावरण लेख्नका लागि उपयुक्त हुन्छ ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
सृजनाका निम्ति समाजमा अनगिन्ती विषय हुन्छन् । तीमध्ये जीवनोपयोगी विषयवस्तु पहिचान गर्न सक्नुपर्छ । मैले चाहिँ बढीजसो आवश्यकता र मागका आधारमा लेखेको छु । विश्वविद्यालयमा प्राध्यापन गर्दा पठनपाठनका निम्ति आवश्यक पर्ने सामग्री पनि तयार गरियो भनेअरू बेला स्वतन्त्र अध्ययन–अनुसन्धान र लेखन पनि भएको छ ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
सबैभन्दा बढी लेखिने र पढिने विधा कविता नै हो तर पाठकका निम्ति बढी रुचिकर लाग्ने विधाचाहिँ आख्यान र नियात्रा हुन् ।
सृजनामा यथार्थता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
सृजनामा कोरा कल्पना मात्र भयो भने पनि त्यो जीवनबाट टाढा हुनपुग्छ अनि यथार्थको वर्णनमात्र भयो भने पनि त्यो सृजना नभई कोरा कुरामात्र हुनपुग्छ । त्यसैले सृजनामा यथार्थको फोटोग्राफी होइन– कल्पनाको जलपसहितको प्रतिविम्बन, पुनः सृजन वा पुनरूत्पादन आवश्यक हुन्छ ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
खास सृजना त खास विशेष क्षणमा नै लेखिन्छ । समालोचना, समीक्षा र अनुसन्धानात्मक लेखचाहिँ कसैले मागेका बेला र आवश्यकता परेका बेला बाध्यतामा परेर पनि लेखिन्छ ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
रहरले मात्र होइन– प्रशस्त साधना गरेर विचार निर्माणपछिमात्र लेख्ने गरियो भने त्यो सृजना दिगो र स्तरीय पनि हुन्छ । लेखनमा अरूको नक्कल होइन–आफ्नै मौलिक शैली विकास गर्नु राम्रो हुन्छ ।
किन कोही स्रष्टा दलको झन्डामुनि ओत लाग्ने रहर गर्छन् ?
लोकतन्त्रमा झन्डामुनि ओत लाग्ने कुरा स्वाभाविकै हो नि । झन्डामुनि बसेर जनविरोधी सृजना पो गर्नु भएन त । कला र साहित्य राजनीतिबाट अलग हुन्छन् भन्नु गलत कुरा हो । जसले यस्तो कुरा गर्छ– उसले पनि राजनीति नै गरिरहेको हुन्छ । कोरा राजनीति पो साहित्यमा अस्वीकार्य हुन्छ– विचार त आवश्यक पर्छ नि ।
प्रस्तुति : जयराम सापकोटा