Logo

चार दिनपछि पृथ्वी राजमार्ग खुल्यो



धादिङ, १० साउन। अविरल वर्षापछि बाढी पहिरोका कारण सोमबारेदेखि अवरुद्ध पृथ्वी राजमार्गमा शुक्रबार दिउँसोदेखि सवारी साधन गुड्न थालेका छन् । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सीमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्णरुपमा ठप्प भएको थियो ।

चार दिनदेखि बन्द रहेको पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन सडकखण्डमा शुक्रबार दिउँसोदेखि साना गाडी चल्न थालेका छन् । बाढीले भत्काएको भागमा डिभिजन सडक कार्यालयले नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेको हो ।

पुलको मर्मतपछि मोटरसाइकल, साना चारपाङ्ग्रे सवारी र एम्बुलेन्सलगायत सवारी चल्न थालेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार मौवाखोलामा मर्मत गरेर पुलकोे केही भाग बनाइएकाले साना गाडी चल्न थालेका तर मर्मत कार्य सम्पन्न नभएकाले ठूला गाडीहरू चल्न दिइएको छैन । शनिबार बिहानबाट ठूला गाडी पनि चल्ने गरी मर्मतलाई अगाडि बढाइएको रेग्मीले बताउनुभयो ।

पुल मर्मतको काम चलिरहेको भएपनि पहिरोका कारण ठाउँठाउँमा राजमार्ग अवरुद्ध छ । सोमबारको पहिरो पन्छाएर एकतर्फी बाटो सञ्चालन गरिए पनि बिहीबार रातिको वर्षापछि आएको पहिरोले सडकमा समस्या आएको रेग्मीको भनाइ छ । राजमार्गमा पहिरो जानेक्रम नरोकिएकाले गाडी चलाउँदा ओभरटेक नगरी संयमित र सजग भएर सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्