Logo

अस्पतालले लिन नमान्दा अस्पताल डुलाउँदा एम्बुलेन्समै बिरामीको मृत्यु



विराटनगर, १० साउन । विराटनगरका ठूला अस्पतालले उपचारका लागि लिन नमान्दा उदयपुरबाट ल्याइएका एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको अस्पताल डुलाउँदा डुलाउँदै शुक्रबार दिउँसो मृत्यु भएको हो।

बिरामी अवस्थाका उनलाई श्रीमती कमला र बहिनी चमेलीले स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर शुक्रबार विराटनगर ल्याएका थिए। पदमलाई दिउँसो २ बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा पुर्‍याइएको थियो। तर अस्पतालले लिन मानेन। श्वासप्रश्वासमा समया रहेको जानकारी गराएपछि उपचारका लागि लैजान भनेर स्ट्रेचरमा राखि सकिएका बिरामीलाई अस्पतालले त्यत्तिकै फिर्ता पठाएको एम्बुलेन्स चालक सुवास तामाङले बताए। ‘आकस्मिक कक्षमा भर्ना गर्ने तयारी अस्पतालले गरेको थियो,’ उनले भने, ‘तर श्वासप्रश्वासमा समस्या रहेको थाहा पाएपछि स्ट्रेचरमा राखिएको भएपनि बिरामीलाई अस्पतालले लिनै मानेन।’ नोबेलमा भने पदम एम्बुलेन्सबाट आफैँ निस्किएर स्ट्रेचरमा बसेको उनको भनाइ छ।

चालक तामाङले बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि गर्ने आधार खोजिएको र त्यो आफूहरुसँग नहुँदा नोबेलले लिनै नमानेको बताए। ‘कोरोनाको शंकास्पद मानेर त्यहाँका कर्मचारी र स्वास्थ्यकर्मीले अर्को अस्पताल लैजान सुझाव दिए,’ उनले भने, ‘त्यसपछि पदमलाई दिउँसो २.३० बजे कोसी अस्पताल पुर्‍याइएको थियो।’ कोसीको आकस्मिक कक्षबाहिर एम्बुलेन्समा लगेर राखिएका उनलाई त्यहाँका चिकित्सकले पनि लिन नमानेको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्