Logo

अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने रणनीति



काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद सहमतितर्फ उन्मुख हुँदा माहोल फेरि बिग्रिएको छ । ‘अर्ली महाधिवेशन’ मा लचिलो भइसकेका प्रचण्ड एकाएक बिच्किएका छन् । ओलीसँग सहमति गरेर भन्दा संघर्ष गरेर अगाडि बढ्ने संकेत प्रचण्डले गरिसकेका छन् । उनले अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि सार्वजनिक रुपमै पार्टी फुटाउन खोजेको आरोप लगाएर त्यस्तो संकेत गरेका हुन् ।

हत्तपत्त गम्भीर विषयमा बाहिर नबोल्ने प्रचण्डले हिजो दिएको अभिव्यक्तिले नेकपाभित्र तरंग आएको छ । प्रचण्ड र माधव नेपालबीचको पटक पटकको संवादपछि पछिल्लो अभिव्यक्ति आएको बुझिएको छ । दुवै नेता अडानमा टसमस नहुने र ओलीलाई वैधानिक तरिकाले प्रधानमन्त्रीबाट हटाउने रणनीतिका साथ प्रस्तुत हुने निर्णयमा पुगेको बुझिएको छ । यसका लागि संसदीय प्रक्रियाबाट बढ्ने तयारीहरु भएका छन् । अन्य दलका प्रभावशाली नेताहरुसँग पनि भित्र भित्र परामर्श थालेका छन् ।

प्रचण्ड र माधव नेपालले आफूहरु एकजुट भएमा ओली हटाउन सकिनेबारे छलफल समेत गरेको बुझिएको छ । अब ओलीले पार्टी फुटाएर गएपनि हटाउने कदम चाल्ने निर्णयमा प्रचण्ड र माधव नेपाल पुगेका छन् । त्यसको संकेत माधव नेपालका विश्वासपात्र विष्णु रिजालले ट्वीटर गरेर दिएका छन् । रिजालले २०५६ सालमा एमालेबाट फुटेको मालेको उदाहरण दिदै भनेका छन्, ‘संसदबाट जन्मिएको दलको अन्त्य पनि संसदमै हुन्छ ०५६ साल साक्षी छ । रिजालले कसैले नेकपा फुटाएर गएमा त्यसले आकाल नलिंदै त्यसको आयु सकिने समेत भनेका छन् ।’

अब प्रचण्ड र माधव नेपाल ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत मिलेपछि सम्भावित घटनाक्रमको विश्लेषण गर्दै रिजालले पछिल्लो टिप्पणी गरेका हुन् । उनको संकेत अब संसदको अंकगणितमा जाने र त्यसले नयाँ परिस्थिति निर्माण गर्ने सम्मको छ ।

आफूविरुद्ध सम्भावित कदमलाई दृष्टिगत गरी प्रधानमन्त्री ओलीले हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटिसकेका छन् । दुवैबीच भविष्यमा बन्ने राजनीतिक परिस्थितिमा मिलेर बढ्न सकिने विषयहरुबारे छलफल भएको बुझिएको छ । ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन सकिने विषयलाई दृष्टिगत गरी आफ्ना निकटस्थहरुलाई सम्भावित परिस्थितिका लागि तयार हुन भनिसकेका छन् ।

हिजो पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका प्रभावशाली नेता डा. बाबुराम भट्टराईले ओलीलाई हटाउनेबारे प्रस्ताव गरेका छन् । उनले ट्वीट गर्दै संसदको विशेष अधिवेशन बोलाउने देखि ओलीलाई बिदा गरी नेकपाबाटै नयाँ प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । विशेष अधिवेशन बोलाउन संसदको कम्तिमा २५ प्रतिशत सांसदहरुको हस्ताक्षरसहितको निवेदन सभामुख समक्ष पुग्नुपर्छ । २५ प्रतिशत भन्दा बढी सांसद संख्या नेकपा र नेपाली काँग्रेससँग मात्र छ । जसपासँग त्यो संख्या छैन । जसपाले काँग्रेससँग मिलेर विशेष अधिवेशनमा जानेबारे छलफल बढेको छ । काँग्रेसलाई त्यस दिशातर्फ बढ्न नदिन ओलीले देउवासँग सामिप्यता बढाइरहेका छन् ।

नेकपाभित्र ओलीको टरिसकेको सत्ता संकट फेरि ब्युँतिरहँदा नयाँ घटनाक्रम विकास भएको छ । यसले फेरि टकराव बढ्ने र दुवै पक्ष संसदको वैधानिक प्रक्रियामा जानसक्ने देखिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot