Logo

इन्सपेक्टरको कन्चटमा असईको पेस्तोल



कैलाली, साउन १० । कैलालीमा मदिरा सेवन गरी सिनियर प्रहरी अधिकृतमाथि गोली प्रहार गर्न खोज्ने प्रहरी सहायक निरिक्षकलाई सिनियर प्रहरी अधिकृतले नै संरक्षण दिईएको आरोप लागेको छ। कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरा र प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरी निरिक्षक लक्ष्मी जोशीमाथि गोली प्रहार गर्न खोज्ने प्रहरी सहायक निरिक्षकलाई संरक्षण दिएको आरोप लागेको हो।

धनगढी उप–महानगरपालिका वडा नम्बर १ को शान्तिनगर अस्थायी प्रहरी विटका ईन्चार्ज प्रहरी सहायक निरिक्षक कृष्ण चन्दले डेढ हप्ता अघि प्रहरी निरिक्षक जोशीमाथि मदिरा सेवन गरी गोली प्रहार गर्न खोजेका थिए। प्रहरी स्रोतका अनुसार डिउटीमै मदिरा सेवन गरेर अस्थायी प्रहरी विटमा होहल्ला गरिरहेको खबरपछि प्रहरी निरिक्षक जोशीको नेतृत्वको टोली त्यहाँ पुगेको थियो।

तर प्रहरी सहायक निरिक्षक चन्दले आफ्नो पावर भएको भन्दै जोशीलाई नै सुट गरिदिने भन्दै पेस्तोल कक गरेर कन्चटमा राखेका थिए। त्यहाँ रहेका जुनियर अधिकृतहरुले चन्दको हातबाट पेस्तोल खोसेको प्रहरी स्रोत बताउँछ। ‘यदी जुनियर प्रहरी साथीहरुले चन्दको हातबाट पेस्तोल नखोसेको भए त्यो दिन अप्रिय घटना हुन्थ्यो,’ स्रोतले भन्यो, ‘तर सिनियर अधिकृत भएपनि अप्रिय घटना हुन नदिन उहाँहरु हातबाट पेस्तोल खोस्न बाध्य हुनुभयो।’

सुट गर्ने भन्दै कन्चटमा पेस्तोल ताकेपछि प्रहरी निरिक्षक जोशीको टोली चन्दलाई अस्थायी प्रहरी विटमै छोडेर जिल्ला फर्किएको थियो। आफूलाई सुट गर्ने भन्दै चन्दले पेस्तोल कन्चटमा राखेको घटनाको विषयमा प्रहरी निरिक्षक जोशीले प्रहरी उपरिक्षक जबरा र प्रहरी नायब उपरिक्षक विष्टलाई तत्काल जानकारी गराएका थिए। तर उनीहरुले उल्टै प्रहरी सहायक निरिक्षक चन्दलाई संरक्षण दिदै जोशीमाथि अन्याय गरेको आरोप लागेको छ।



प्रतिक्रिया दिनुहोस्