जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले न्यायलयलाई फितलो र कमजोर बनाउने काम गर्न नहुने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्ढाले भनेका छन्,‘फैसला गर्दाखेरि न्यायाधीशको रायलाई, त्यो न्यायाधीशको विचार र राय हो । न्यायाधीशले कसैलाई थुन्यो भने त्यो इमान्दार भइहाल्छ, छोड्यो भने बेइमान भइहाल्छ । यस किसिमको हामी न्यायको कल्पना गर्छौँ । न्यायालयलाई हामी यत्ति गाली गर्छौँ भने न्यायालय कमजोर हुन्छ ।’ प्रस्तुत छ नेता कर्णसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईहरूले सक्षम न्यायाधीशहरूलाई सिफारिस गर्नुभएको छ ? पछिल्लो समय प्रधानन्यायाधीशहरूमाथि पनि प्रश्नहरू उठ्न थाले रञ्जन कोइराला प्रकरणमा । के भन्नुहुन्छ ?
यो देशको दुर्भाग्य हो । सबैलाई न्याय दिने, न्याय खोज्दा खोज्दा कही न्याय पाइएन भने सर्वोच्च अदालतको हामीले कल्पना गरेका छौँ । पहिले राजाहरूले न्याय दिन्थे, अहिले हामी सर्वोच्च अदालत धाउँछौँ । न्यायको खोजीमा मान्छेहरू वर्षौ धाउने गर्छौँ । न्याय पाएन भने त्यही समाजमा फेरि रिभोलुसन (क्रान्ति) हाबी हुन्छ । यस केसको समाजमा धेरै चर्चा भयो । मैले बुझ्दै बुझ्दिन् यो नेपालको समाजलाई, फैसला गर्दाखेरि न्यायाधीशको रायलाई, त्यो न्यायाधीशको विचार र राय हो । न्यायाधीशले कसैलाई थुन्यो भने त्यो इमान्दार भइहाल्छ, छोड्यो भने बेइमान भइहाल्छ । यस किसिमको हामी न्यायको कल्पना गर्छौँ । न्यायालयलाई हामी यत्ति गाली गर्छौँ भने न्यायालय कमजोर हुन्छ ।
रञ्जन कोइरालाले आफ्नो श्रीमतीलाई हत्या गरेको हो । त्यो प्रमाण छ । गीता ढकालको ? तपाई यतिखेर प्रधानन्यायाधीशको पक्षमा आउनुभयो ? मुद्दाको छिनोफानो गर्दाखेरि २० वर्ष कैद तोकेको होइन ? यसलाई घटाउन मिल्छ ?
किन मिल्दैन ? कानुन बनाउनुहुन्छ, घटाउनसक्ने राय दिनुहुन्छ, अनि मिल्छ ? भनेर भन्ने । कानुन नै त्यही बनाउनुहुन्छ, सजायसम्बन्धि ऐन, नयाँ डेभलप्ड नियम बनाउनुभयो, लेखिरहेको छ सजाय घटाउन सक्छ ।
कैद सजाय छुट दिन मिल्छ भन्ने पक्षमा लक्ष्मणलाल कर्ण हुनुहुन्छ ?
न्यायाधीशको राय हो । त्यहाँ चित्त बुझेन भने फेरि पुनरावलोकनमा जानुस् । व्यवस्था गरिराखेको छ । यस किसिमले न्यायालयलाई फित्तलो र कमजोर बनाउने काम नै गर्नुहुँदैन ।
पुनरावलोकनमा त जाला । महान्यायाधिवक्ताको कार्यालय त गईसक्यो । तर निसाफ दिनुप¥यो अदालतले ?
के जबर्जस्ती छ ? के यो हामीले नुन, तेल, खुर्सानी किन्न गएको हो ? पैसा दिन्छु, तिमी दिईहाल । पुनरावलोकनको कानुनी व्यवस्था जुन छ, त्यो व्यवस्था अनुसार न्यायाधीशलाई अनुभव भयो भने यसमा दिनुपर्छ । यसमा इन्साफ यता उता भएको रहेछ भने त दिन्छ नै । लागेन भने दिदैँन ।
तपाईलाई थाहा छ, गीता ढकालको पिताको पीडा ? हिजो प्राइम टि.भी. को जनता जान्न चाहन्छन् भन्ने कार्यक्रममा उहाँले रुँदै के भन्नुभएको छ ? तपाईलाई थाहा छ ?
आफ्नो सन्तान मरेपछि त रुन्छ नि मान्छे ।
देशमा न्याय छ, भन्ने लागेको थियो तर देखिएन । सबै प्रमाणहरू हुँदा हुँदै पनि हामी आज यो पीडामा छौँ । हाम्री छोरीको हत्यारा कसरी छुट्यो ? हाम्रो छोरीमाथि पनि यस्तो घटना ? न्याय माग्न कहाँ जाने ? भरोसा कसको गर्ने ?
उहाँहरूको पीडाप्रति संवेदनशीलता, सहानुभूति छ । जेलमा जानुभयो भने ६० देखि ७० प्रतिशतहरू निर्दोष बसिरहनुभएको हुन्छ । हाम्रो परम्परा के हो भने जेलमा ठुसिएन, लगिएन भने त्यो न्यायविपरीत मान्नुहुन्छ । अब त्यो जेलमा लग्यो भने इमान्दार भईहाल्छ, यो कन्सेप्टबाट टाढा जानुपर्छ हामीले । इन्साफ भनेको के हो ? कानुनको परिधिभित्र कानूनले गरेको व्यवस्थाअनुसार नै न्याय दिनुपर्दछ । त्यसैले ठाउँ–ठाउँमा न्यायालय, अदालत बनाइराखेको छ । चित्त नबुझे अगाडि बढ्नुपर्ने व्यवस्था बनाइराखेको छ ।
रञ्जन कोइरालाले पत्नीको हत्या गरेकै हो । जिल्ला, सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएकै हो ।
सर्वोच्च अदालतले यीनले हत्या गरेको होइन भनेर भनेकै छैन ।
साँढे एघार वर्ष कैद सजाय छुट हुनसक्छ ?
आधारहरू त्यही फैसलामा लेखिराखेको छ ।
त्यो फैसलालाई मान्नैपर्छ भन्ने हो तपाईको भनाई ?
कैद घटाउने आधारहरू पनि खोलिराखेको रहेछ । किन घटाइराख्यो भन्ने कुरा कारण दिईराखेको रहेछ । कारण बताइराखेको रहेछ कि आवेशमा आएर यो घटना भएको हो । उनका सन्तानहरूको रक्षा गर्नका लागि अभिभावक भएको कारणले घटाइदिए । अब त्यो कति जायज छ, त्यो त व्यक्तिगत न्यायाधीशको जुन दिइएको छ, तद्बिज त्योअनुसार गरेको हो । त्यसमा चित्त बुझेन भने पुनरावलोकन गर्दा हुन्छ, सर्वोच्चले हेर्छ फेरि ।
तपाईले संसदीय समितिको सुनुवाईमा चोलेन्द्र शमशेर ज.ब.रा. लाई न्यायाधीश गरेको व्यक्ति हो तपाई ? उहाँमाथि प्रश्नहरू खडा भएका छन् । त्यसमा तपाई बचाऊ गरिरहनु भएको छ ।
होइन मैले बचाऊ गरेको होइन । मलाई के लिनुदिनु छ र मैले बचाऊ गर्ने ? कानुनी जुन सिस्टम हो, जुन कानुनमा हामीले बनाइराखेका छौँ । त्यसको कुरा गरेको हो, मैले । उहाँको नियुक्तिको सिफारिस न्यायपरिषद्ले गरेको हो । त्यसपछि संवैधानिक परिषद्ले सिफारिस गरेको हो । हामीले सुनुवाइ गरेका छौँ । उचित देखेर हामीले पठाएका हौ ।
वीरगञ्ज र पर्सामा कोरोनाको संक्रमण धेरै बढेको छ, त्यहाँबाट मलाई धेरै समाचारहरू आइरहेको छ । निषेधाज्ञाहरू जारी भएको छ । के छ त्यहाँको अवस्था ?
राज्यको सरकारका जरुरत कुन बेला पर्छ ? यस्तै महामारी, दैवी प्रकोपमा । जुन देशमा मान्छेले सरकारको महशुस नै गरेको छैन, कहाँ छ सरकार ? पहाडमा पहिरोबाट मान्छे मरिराखेका छन् । जलमग्न तराइ भइराखेको छ । कोरोनाबाट मान्छे मरिरहेको छ । सरकारका पार्टी र सरकारले को प्रधानमन्त्री भन्ने भनेर लडिराखेका छन् । यसरी देश चल्छ ? यसरी सरकार हुन्छ ? यस्तो अवस्था भयो भने वीरगञ्जमा मात्र होइन, काठमाडौँमा हेर्ने हो भने के हल्ला हुन्छ ? जाँच नै गरिएन भने त केही पत्ता लाग्दैन । वीरगञ्जमा जाँच सुरु भएको भएर देखिरहेको छ । यो देश त अहिले कोरोनाको भयावह अवस्थामा छ । जहाँ परीक्षण सुरु भएको छ, त्यही देखिराखेको छ । राज्यको महशुस नै जनताले गरेका छैनन् । सरकारको महशुस नै भएको छैन । सरकार आफैमा लडिरहेको अवस्था छ । पार्टीभित्र द्वन्द्वमा छ । जनताको लागि केही गर्न सकेको छैन ।