मुकुन्द कालिकोटे : १० साउन, काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी हिन्दूधर्मावलम्वीहरुले परम्पराअनुसार आ–आफ्नो घरको मूल ढोका नाग अङ्कीत तस्विर टाँसेर पूजा गरी विभिन्न मठ मन्दिरमा गएर नागको पूजा गरी मनाईँदै छ । आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा भनिन्छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । घरको मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ । तर काठमाडौंको नाग पोखरीमा भने पोखरी बाहिरैबाट पूजा गरिने व्यवस्था मिलाईएको थियो ।
व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठले भने, नागको प्रतिमालाई ४ वर्षभयो टेको दिएर राखेको, दर्शनार्थीहरुले फेदमै गएर दूध चढाउँनाले काठ कुहिएर ढल्न लागेपछि हामीले टेको दिएर राखेका हौं । उनले ३० फिट उचाई, १४ इन्चको मोटाई कहिँ दाग नलागेको काठबाट नागको प्रतिमा बनाईने भएकाले त्यस्तो काठ नभेटिएकाले बनाउन नसकिएको जानकारी दिए । श्रेष्ठ भन्छन् – काठमाडौं महानगरपालिकाले नाग बनाउन र मर्मत सम्हारको लागि २५ लाख रुपैया दिएको भएपनि विधिअनुसारको काठको अभावका कारण नागको प्रतिमा बनाउन नसकिएको हो ।
नक्साल बक्सिङ्ग क्लबको संरक्षण र रेखदेखमा रहेको नागपोखरीलाई शहरी विकास भवन निर्माण विभाग, पूरातत्व विभाग र महानगरपालिकाले सहयोग गर्ने भएको छ, कारोना लकडाउनको अवस्थालाई हेरेर समिति बनाई काम सुरु गरिने सदस्य श्रेष्ठ बताउँछन् ।
हाल नागपोखरीमा पूजारी नियुक्त गरिएको छैन, नक्साल बक्सिङ क्लबका अध्यक्ष नविन तण्डुकारले काम गरिरहनुभएको छ । भूकम्पले जिर्ण बनाएको नागपोखरीलाई समिति बनाएर नागको प्रतिमूर्ति, रेलिङ, बत्ति, फोहोरा, झिङ्टी, पानीको सफाई गरी नागपोखरीलाई पहिला कै जस्तो सुन्दर बनाउँछौं सदस्य श्रेष्ठ बताउँछन् ।