Logo

पछिल्लो २४ घण्टामा कहाँ के भयो ?



काठमाडौँ, १० साउन: पछिल्लो २४ घण्टामा मुलुकमा विपद्का २२ घटना भएका छन् । ती घटनामा परेर एकको मृत्यु, दुई बेपत्ता र तीनजना घाइते भएका छन् । प्राप्त विवरणअनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ मा रहेको एक कच्ची घर वर्षाका कारण भत्किन गई त्यसमा च्यापिएर एक जनाको मृत्यु भएको छ । सोही नगरपालिका–५ दुईपीपल माझगाउँमा पहिराले पाँच घर पुरिँदा केही पशुचौपाया पुरिएका प्राधिकरणले जनाएको छ ।

दार्चुलाको महाकाली नगरपालिका–३ बडाली गाउँमा घरबाट बजार आउने क्रममा पहिरामा परेका दुई बालबालिकामध्ये एकजना घाइते अवस्थामा उद्धार गरिएको छ भने एकजना हराइरहेका छन् । यस्तै गोरखाको तिसेङखोलामा पानीको बहाव एक्कासि बढ्न गई एक जनालाई बगाएर बेपत्ता बनाएको जनाइएको छ । उदयपुर, महोत्तरी, बर्दिया, पाल्पा, रोल्पा, नवलपरासी, रौतहट, हुम्ला र कञ्चनपुरमा पनि विपद्का घटना भएको जनाइएको छ । ठाउँठाउँमा पहिरो र बाढीले राजमार्ग अवरुद्ध रहेकाले कतिपय सञ्चालनमा आएको र कतिपय सञ्चालनका क्रममा रहेको जनाइएको छ ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्