Logo

राप्रपा त्यागेका सुनिल थापा काँग्रेस प्रवेश गर्ने



काठमाडौं, १० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका सुनिलबहादुर थापा नेपाली काँग्रेस प्रवेश गर्ने भएका छन् । उनी आउँदो हप्ताभित्र काँग्रेस प्रवेश गर्ने निश्चित भएको हो । यसको सबै तयारी पूरा भइसकेको छ ।

काँग्रेसमा थापाले कुन पद पाउने खुलाइएको छैन । तर, उनलाई पदाधिकारी दिने गरी सहमति बनिसकेको बुझिएको छ । सम्भवत थापाले सहमहामन्त्री पाउनेछन् । उनीसँगै राप्रपा परित्याग गर्नेहरुमध्ये केहीले केन्द्रीय सदस्य पाउनेछन् ।

थापासहित ३० भन्दा बढी केन्द्रीय स्तरका नेताहरुले आजै राप्रपा परित्याग गरी राजीनामा बुझाएका छन् । उनीहरु सबै काँग्रेस प्रवेश गर्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

थापाले काँग्रेस प्रवेश गर्ने विषयको खुलासा हिजो नै काँग्रेस नेतृ इन्दिरा थापाले गरेकी थिइन् । नाताले सुनिल थापाको फुपू पर्ने इन्दिराले हिजो फेसबुकमा भेटको तस्बिर सार्वजनिक गर्दै काँग्रेस प्रवेश गर्न लागेको खुलासा गरेकी थिइन् ।

यसैगरी, सुनिल थापाको नेपाली काँग्रेस प्रवेश गर्ने तयारी भइरहँदा उक्त पार्टीका अध्यक्ष कमल थापाले यो अवस्था आएमा पूर्व प्रधानमन्त्री समेत रहेका राप्रपाका संस्थापक नेता सुर्यबहादुर थापाको विरासत अन्त्य हुने टिप्पणी गरेका छन् । उनले आज ट्वीट गर्दै लेखेका छन्, ‘यदि यो सत्य हो भने पाँचपटकका प्रधानमन्त्री तथा राप्रपाका संस्थापक अध्यक्ष सुर्य बहादुर थापाको विरासतको अन्त्य हुनसक्नेछ ।’ उनले सुनील थापालाई असहजता र असहमतिका बाबजुद महान पिताको मौलिक विचारको रक्षा गर्न समेत आग्रह गरे । थापाले अन्य दलको ओथ लाग्नुभन्दा आफ्नै घर बलियो बनाउन आग्रह समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्