काठमाडौं, साउन ११ । कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो ।
अहिले नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । आजभोलि देखिएका सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन् ।
उनका अनुसार हालै काठमाडौं उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ । “पहिले देखिएका सङ्क्रमितमा लक्षण देखिएको थिएन”, उनले भने, “तर अहिले देखिएका सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेका छन् ।”
लक्षण देखिएका सङ्क्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ । सरकारले यही साउन ७ गतेदेखि बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भर्ना भएका बिरामीमध्ये एक तिहाइमा लक्षण भएका सङ्क्रमित भएको बताए । अस्पतालमा अहिले २४ जना बिरामीमध्ये आठजना कोभिड–१९ का लक्षण देखिएका सङ्क्रमित रहेका छन् । उनका अनुसार ती बिरामीमा कसैलाई ज्वरो, रुघाखोकी, जीउ थाक्ने, श्वास फेर्न समस्या जस्ता लक्षण देखिएका छन् । गोरखापत्र दैनिकबाट