Logo

टाढिँदै पूर्वएमाले र पूर्वमाओवादी



काठमाडौं। ११ साउन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक भएको वार्ता सहमति जुट्न सकेको छैन ।

विगत एक महिनादेखि निरन्तरत संवादमा जुट्दासमेत सहमति कायम हुन नसकेपछि प्रचण्डले पार्टीभित्र सामान्य परिस्थिति नरहेको र पार्टीकै अध्यक्ष ओलीको निर्देशनमा एमाले पार्टी दर्ता भएको अभिव्यक्ति दिएपछि थप विवाद सिर्जना भएको छ ।

प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने मागबाट पछि हट्दै कार्यकारी अध्यक्ष लिएर सहमति कायम गर्न तयार हुनुभएका प्रचण्डको अभिव्यक्तिले पार्टीभित्र पुनः नयाँ विवाद सिर्जना गरेको छ ।

प्रचण्डको नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनुु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्टी संकटपूर्ण अवस्थामा पुगेको अभिव्यक्तिले नेकपाभित्र थप संकट सिर्जना भएको छ ।

पछिल्लो भेटवार्ता सकारात्मक बन्न नसकिरहेका बेला प्रचण्डले पार्टी विभाजनतिर जान सक्ने संकेत गरेपछि करिब समाधानतर्फ पुग्न लागेको विवाद बल्झिएको छ । नेकपाका नेता मणि थापाले पार्टी विभाजित हुँदा नेकपाको भविष्य संकटमा पर्ने बताउँदै देशको अहिलेसम्म प्राप्त उपलब्धिसमेत खतरामा पर्ने बताउनुभयो ।

‘जनताले दुई तिहाइको मत दिएको पार्टी विभाजन गर्न होइन, देशलाई समृद्ध बनाउन हो, पार्टीभित्र असहमति र विवाद स्वभाविकरूपमा छन्, पार्टी एकता गर्ने दुवै जना अध्यक्षले नै समस्याको समाधान खोज्नुपर्छ ।’ –उहाँले भन्नुभयो । यो खबर आजको समाचार पत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot