काठमाडौं, साउन ११ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको कुराकानीको विषय सार्वजनिक गर्न माग गरेका छन् ।
सभापतिले प्रधानमन्त्रीलाई भेटेको विषयलाई लिएर विवाद भइरहेकाले ओली र देउवाबिचको भेटघाट र छलफलको विषय पारदर्शी हुनुपर्ने उनको भनाई छ ।
पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले भने, ‘सभापतिले प्रधानमन्त्रीलाई कहिले कहिले भेटेर के के विषयमा छलफल गर्नुभयो भन्ने कुरा पारदर्शी हुनुपर्छ, पारदर्शी नहुदा गलत प्रचार भइरहेको छ ।’
देउवा र ओलीबीचको भेटघाटको विषयमा प्रधानमन्त्री निकटस्थहरुले नै नियोजित रुपमा गलत प्रचार गराइरहदा पनि सभापति देउवा निरन्तर भेट्न जानु आत्मघाती भएको उनको भनाई छ ।
उनले नेकपाको सरकारसँग काँग्रेसको कुनै भागबण्डा नहुने स्पष्ट पार्दै सभापति देउवाले भागबण्डा खोजेको भए गलत भएको दाबीसमेत गरेका छन् ।
‘नेकपालाई जनताले पाँच बर्ष सरकार चलाउने जिम्मा दिएका हुन, हामी प्रतिपक्षमा छौँ, हामीले रचनात्मक र जिम्मेबार प्रतिपक्ष बाहेक सत्ताको लाभतिर लाग्नुहुदैन,’ उनले भने ।
उनले नेकपालाई पाँच बर्ष सरकार चलाउन भनेको तर पाँच बर्ष सम्म ओली नै प्रधानमन्त्री हुनुपर्छ भनेर नभनेको स्पष्ट पारे । काँग्रेस नेता पौडेलले सरकार चलाउन ओली अयोग्य भइसक्दा पनि नेकपाले अर्को योग्य नेता नभेटेको टिप्पणी गरे।