Logo

पार्टी नै एक किसिमले पलायन हुन लागेकोले राप्रपा परित्याग गरेका हौं : थापा



विष्णुविक्रम थापाले राप्रपा सिद्धान्तमा विचलन भएको र एक किसिमले पार्टी नै पलायन हुने अवस्था भएकोले आफूहरुले पार्टी परित्याग गरेको स्पष्ट पारेका छन् । आइतबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले तपाईहरुले किन पार्टी त्याग्नुभयो भनेर सोधेको प्रश्नमा थापाले भने,‘पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा एउटा वैचारिक किसिम र अन्य कारणबाट हिजो प्रजातान्त्रिक पार्टी थियो, हाल आएर त्यतिखेरको सिद्धान्तमा विचलन आएर पार्टीनै एक किसिमले पलायन हुन लागेको कारणले हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्न लागेका हौँ ।’ प्रस्तुत छ नेता थापासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईहरुले किन राप्रपा पार्टी परित्याग गर्नुभयो, के कारणले छोड्नुभयो ?

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा एउटा वैचारिक किसिम र अन्य कारणबाट हिजो प्रजातान्त्रिक पार्टी थियो, हाल आएर त्यतिखेरको सिद्धान्तमा विचलन आएर पार्टीनै एक किसिमले पलायन हुन लागेको कारणले हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्न लागेका हौँ ।

डा. प्रकाशचन्द्र लोहनी, कमल थापा उहाँहरूले काम गर्न सक्नुभएन ?

उहाँहरूले सक्नुभयो, सक्नुभएन भन्ने कुरा यथार्थ धरातलमा हामीले देखिरहेका छौँ । जनताले देखिसकेका छन् ।

कतिजनाले पार्टी छोड्नुभयो ? ठ्याक्कै भन्नुस् त ?

पार्टी छोड्ने त हामी धेरै थियौँ त अहिलेलाई ३१ जना छौँ ।

केन्द्रिय नेताहरूले तपाईहरूलाई पार्टी नछोड्न आग्रह गर्नुभएन ?

हाम्रो त्यस किसिमको वार्ता नै भएन । त्यस किसिमको मौका नै रहेन ।

त्यसो भए तपाईहरू नेपाली कांग्रेसमा जाने तयारीमा हो ?

अहिलेसम्म हामीले निर्णय गरेका छैनौँ । हामी प्रजातान्त्रिक धार र देशमा प्रजातन्त्र बलियो हुुनुपर्छ भन्ने मान्यतामा हो ।

प्रजातान्त्रिक धारलाई बलियो बनाउन तपाईहरू नेपाली कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ ?

करिब–करिब त्यही ठान्नुस् ।

तपाईहरूको बीचमा सहमति भईसकेको छ ?

हामी नेपाली कांग्रेसमा प्रवेश गर्छौँ ।

नेपाली कांग्रेसमा प्रवेश गर्दाखेरि तपाईलाई पदीय भागबण्डाको कुरा पनि आउँछ होला नि, सुनिल बहादुर थापालाई सहमहामन्त्री दिने कुरा भएको हो् ?

यो विषयमा मसँग त्यस्तो कुनै कुरा भएको छैन ।

होइन तपाईँ त वार्तामा धेरैपटक बस्नुभएको छ नि ? के छ तयारी भन्नुहोस न ?

अहिले हाम्रो नेतृत्व सुनिल थापाले नै गरिराख्नुभएको छ । सबै कुरा उहाँलाई नै थाहा छ ।

पदहरू के–के पाउँदै हुनुहुन्छ ?
यसमा हामीले मागेर कुनै लिन गईरहेका छैनौँ । हामी नेपालमा प्रजातान्त्रिक धार बलियो हुनुपर्छ भन्ने किसिमको हाम्रो मूल्य–मान्यता हो । त्यसैलाई अगाँलेर हामी नेपाली कांग्रेसमा जाँदैछौँ ।

नेपालमा प्रजातान्त्रिक धार, शक्ति किन कमजोर भयो ? के कारणले भन्नुहोस् त ?

नेपालमा प्रजातान्त्रिक धार प्रजातन्त्रकै कारणले गर्दा कमजोर भयो ।

अहिलेको अवस्थामा नेपाली कांग्रेसले देशमा आएको समस्याको समाधान गर्नसक्छ ? कांग्रेस पनि धेरै ठाउँमा धेरैपटक चुकेको छ नि त ?

कहिलेकाहीँ नेतृत्वहरू असफल हुनसक्छन्, त्यो आफ्नो ठाउँमा रह्यो । तर, समग्र पार्टी भनेको सबल नेतृत्व गर्नसक्ने पार्टी हो भन्ने नेपाली कांग्रेस यो देशको परिस्थितिमा हाम्रो बुझाइ हो ।

तपाईहरू कांग्रेसमा गईसकेपछि आगामी महाधिवेशनमा पनि प्रतिस्पर्धा गरेर तपाई पनि केन्द्रिय सदस्यमा लड्नुहुन्छ, उम्मेदवारी दिनुहुन्छ ?

होइन, त्यो भविष्यको कुरा हो । हामी त त्यहाँ प्रवेश गर्ने कुरा न हो ।

उसो भए तपाईँहरु २/४ दिनमा नेपाली कांग्रेस प्रवेश गर्दै हुनुहुन्छ ?

हो, २/४ दिनमा हामी प्रवेश गर्दैछौँ ।

Photo Source: Facebook/Social-Media



प्रतिक्रिया दिनुहोस्

Screenshot