Logo

गगन थापा र प्रदीप पौडेल सिटौलाकै गुटमा, भेटघाट तीव्र



काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा गुटगत बैठक र भेलाहरु हुन थालेका छन् । १४औं महाधिवेशनमा सभापतिको लागि वर्तमान सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौलाले उम्मेद्धवारी दिने चर्चा छ ।

सभापति देउवाले महाधिवेशनलाई लक्षित गरेर आफूअनुकुल निर्णय गराउँदै गएपछि बरिष्ठ नेता पौडेल समूहले असन्तुष्टि जनाएको छ । बरिष्ठ नेता पौडेलले त सभापति देउवामाथि आसन्न महाधिवेशन प्रभावित पार्ने उद्देश्यका साथ विभाग गठन र मनोनयन गरेको आरोप लगाएका छन् ।

कांग्रेसमा युवा पुस्ताले नेतृत्व गर्नुपर्ने बहस चलिरहेको बेला सभापतिमा देउवाले नै उठ्नेगरि तयारी गरेकोले युवा नेताहरु असन्तुष्ट छन् । तर, युवा नेताहरुपनि अहिले आ–आफ्नो गुटमा सक्रिय छन् । १३औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाको गुट थियो । तीनै जना नेताहरु आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा होमिएका थिए । यो पटकपनि तीन वटै गुट सक्रिय हुने देखिएको छ । पछिल्लो समय नेता सिटौलाले छुट्टै सम्पर्क कार्यालय खोलेर आफूलाई सक्रिय बनाएसँगै यो बहस सुरु भएको हो ।

सिटौलाले चक्रपथमा सम्पर्क कार्यालय खोलेर आफ्नो समूहका नेताहरूसँग दैनिक भेटवार्ता र छलफल गरिरहेका छन् । यसअघि सिटौला गुट त्यागेको भनेर हल्ला चलेपनि युवा नेताहरु गगन थापा, प्रदीप पौडेल, शिव हुमागाँई सिटौला गुटमै रहेको नेता भीमसेनदास प्रधानले जनाएका छन् । आगामी महाधिवेशनमा कसरी अघि बढ्ने भन्नेबारे नेताहरु रणनीति बनाउन व्यस्त रहेको पनि प्रधानले जनाएका छन् । कांग्रेसको १४औं महाधिवेशन आगामी फागुन ७–१० मा हुने कार्यतालिका छ । तस्विर स्रोत : https://twitter.com/iShzz

Related News:

१४औं महाधिवेशनमा सिटौलाजी सभापति लड्नुहुन्छ, तयारी भैरहेको छ : प्रधान

ओलीसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार रहेन, ओली-देउवा भेटवार्ता पारदर्शी बनाइनुपर्छ : पौडेल

सिटौलाको गुट सक्रिय, सभापतिमा उठ्नेगरि भेटघाट सुरु भइसक्यो : प्रधान (भिडिओसहित)

महाधिवेशनलाई लक्षित गरी सिटौलाले खोले सम्पर्क कार्यालय, आजबाट भेटघाट सुरु



प्रतिक्रिया दिनुहोस्

Screenshot