Logo

वर्षाबाट सम्भावित क्षति रोक्न उच्च तयारी, ७७ जिल्लामै परिपत्र



काठमाडौँ, १२ साउन। मनसुन न्यून चापीय क्षेत्र नेपाल नजीक आएर सोमबारदेखि पुनः मौसम सक्रिय हुने देखिएपछि विपदबाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा उच्च तयारी थालिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ७७ वटै जिल्लामा परिपत्र गरेर तयारीमा लाग्न निर्देशन दिइएको हो ।

“सबै जिल्लाका जोखिम क्षेत्र पहिचान भएको ठाउँमा अग्रिम टोली तयारीमा राख्न र आवश्यक उद्धार तथा राहत सामग्री दुरुस्त राख्न भनिएको छ”, प्राधिकरणका प्रमुख अनिल पोखरेलले रासससँग भन्नुभयो, “सम्भावित क्षति रोक्न क्षमताले भ्याए सम्मको उच्च तयारी गरिरहेका छौँ ।”

यसअघि उच्च तयारी हुँदाहुँदै पहिराका कारण मुलुकले ठूलो क्षति बेहोरेको छ । यस वर्ष बाढीपहिरो र चट्याङबाट १८१ जनाले ज्यान गुमाइसकेका छन् भने ५१ जना अझै बेपत्ता छन् । सबैभन्दा बढी १२८ जनाको पहिराका कारण मृत्यु भएको छ । भोलि सोमबार साँझदेखि विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने भएकाले क्षति रोक्न आवश्यक तयारी थालिएको र सर्वसाधारणलाई जोखिम क्षेत्रमा नबस्न भनिएको छ । यसअघि दुईपटक यसरी नै लगातार भारी वर्षा भइसकेको छ ।

पोखरेलका अनुसार स्थानीय तह र प्रदेश सरकारसँग समेत समन्वय गरेर विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न अनुरोध गरिएको छ । जिल्ला प्रशासनलाई सञ्चारमाध्यामबाट आवश्यक सूचना प्रवाह गर्न तथा सुरक्षा निकाय, रेडक्रम एवं सरोकारवाला निकायलाई समेत परिचालन गर्न निर्देशन भएको पोखरेलले बताएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्