Logo

राप्रपा त्यागेका नेता काँग्रेस प्रवेशको तयारीमा, पद व्यवस्थापन हुन बाँकी



काठमाडौँ, १२ साउन । पार्टीबाट शनिबार सामूहिक राजीनामा दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का असन्तुष्ट नेताहरूले नेपाली काँग्रेस प्रवेश गर्ने तयारी गरेका छन् । राजिनामा दिनुअघिदेखि काँग्रेस प्रवेश गर्ने विषयमा छलफल भएपनि पद व्यवस्थापनमा कुरा मिल्न नसकेको सो दलका नेताहरूले बताएका छन् ।

काँग्रेस पदाधिकारीहरूसँग निरन्तर छलफल भएर पार्टी प्रवेशको सैद्धान्तिक सहमति बने पनि पद व्यवस्थापनमा कुरा मिल्न बाँकी रहेको राप्रपाका पूर्व प्रवक्ता किरण गिरीले बताउनुभयो । “काँग्रेसमा प्रवेश गर्ने करिब सैद्धान्तिक सहमति बनिसक्यो, पद व्यवस्थापनको काम बाँकी छ” उहाँले भन्नुभयो ।

पद व्यवस्थापनमा कुरा मिलेपछि पार्टी प्रवेशको औपचारिक मिति तय हुने नेता गिरीले जानकारी दिनुभयो । अहिलेसम्म पार्टी प्रवेशको औपचारिक मिति तय भइनसकेको उहाँको भनाइ छ । काँग्रेस नेताहरूसँग निरन्तर आन्तरिक छलफल भइरहेको उहाँले स्वीकार गर्नुभयो । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका सुपुत्र सुनिलबहादुर थापासहित थापा निकटका नेताहरू सामूहिकरुपमा राप्रपा परित्याग गर्नुभएपछि राप्रपा पुनः सङ्कटमा पर्ने देखिएको छ ।

पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीलाई सम्बोधन गर्दै शनिबार ३१ जना राप्रपाका नेताहरूले सामूहिक राजीनामा दिएका थिए । पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन आएको, समावेशीताको सिद्धान्तलाई अङ्गीकार नगरिएको आरोप लगाएर नेताहरू पार्टी परित्यागको घोषणा गरेका समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्