काठमाडौं, साउन १२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विभाग गठनको विषयलाई लिएर सुरु भएको किचलो फेरि बढेको छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा आएर विभागमा धमाधम सदस्य थप्दै अघि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह त्यसलाई रोक्न प्रतिवादमा उत्रिएको हो ।
वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले गत १ साउनमा सभापति देउवालाई सो कदम सच्याउन भन्दै संयुक्त पत्र बुझाएका थिए ।
पौडेल समूहले महाधिवेशनलाई प्रभावित पार्ने तथा भाड्ने रणनीतिसहित सभापतिले विभागमा सदस्य थप गर्दै अघि बढेको आरोप लगाएको छ । सो समूहले सभापतिले विभाग गठन गर्दा नै एकलौटी गरेको आरोप लगाउँदै आएको थियो ।
‘वरिष्ठ नेता, महामन्त्री र कोषाध्यक्षले सभापतिलाई पत्र पठाएरै महाधिवेशनको वातावरण नबिगार्न अनुरोध गरिसक्नुभएको थियो । तर झन् पेलेर अघि बढ्ने सभापतिको मनसाय देखेपछि थप रणनीति आवश्यक ठानेर छलफल जारी राखिएको छ,’ पौडेल निकट एक नेताले भने ।
सो समूहले आइतबार गोंगबुस्थित नेता अर्जुननरसिंह केसीको निवासमा रणनीतिक बैठकसमेत गरेको थियो । बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा रामशरण महत सहभागी थिए ।
बैठकमा महाधिवेशनलाई निष्पक्ष तथा पारदर्शी रूपमा सम्पन्न गर्नेतर्फ सभापतिको ध्यान नगएको र महाधिवेशनलाई प्रभावित गर्ने दिशाबाट पार्टी नेतृत्वबाटै हस्तक्षेपकारी भूमिका बढेको भन्दै त्यसलाई रोक्न अघि बढ्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिएको राजधानी दैनिकले उल्लेख गरेको छ ।