Logo

साउन १५ गतेबाट विद्यालय चलाउने निजी विद्यालयको घोषणा



दमौली, १२ साउन । तनहुँका निजी विद्यालयले साउन १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेसँगै प्रशासन र विद्यालय सञ्चालकबीच द्वन्द्व श्रृजना भएको छ। शनिबार बसेको निजी विद्यालयका छाता संगठन प्याब्सन र एन प्याब्सनको संयुक्त बैठकको साउन १५ गतेबाट विद्यालय चलाउने निर्णयपछि प्रशासनले यसो हुन नदिने बताएको छ। ‘सरकारले भदौबाट मात्र विद्यालय भर्ना गर्न अनुमति दिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने,‘सरकारको निर्णयबेगर काम गर्ने अनुमति उहाँहरुलाई कसले दियो रु’

उनले सरकारको निर्णयबेगर पठनपाठन सञ्चालन भएमा कारवाही गर्ने बताए। ‘उहाँहरुलाई यसरी निर्णय गर्ने अधिकार छैन,’ बरालले भने,‘यदि अटेर गरेमा हामी रोक्छौं।’ तर निजी विद्यालय सञ्चालकहरुले भने अन्यत्र पनि पठनपाठन सञ्चालन हुन थालेकाले स्थानीय सरकारहरुलाई जानकारी गराएर पठनपाठन अघि बढाउने निर्णय गरेका छन्। ‘विद्यालयमा आउने वातावरण बनाउन अब कक्षा सञ्चालन गर्ने गरी निर्णय गरेका हौं’, एनप्याब्सन तनहुँका सह सचिव विश्वास केसीले भने,‘अब कक्षा चलाउँछौं।’

दुवै संस्थाले बैठकपछि गरेको निर्णयमा विद्यालयमा सरसफाई, तापक्रम मापन र स्यानिटाइजरको व्यवस्था गर्ने उल्लेख छ। विद्यालय सञ्चालन गर्ने भने पनि ती संस्थाले स्कूल बस भने केही समय नचलाउने उल्लेख गरेका छन्। ‘केही दिन सामान्य हिसाबले कक्षा चलाउँछौं’, नागिलाले भने,‘त्यसपछि प्राप्त प्रतिक्रियाका आधारमा अघि बढ्छौं।’ तर सरकारले विद्यालय खुलाउन अनुमति नदिइसकेको अवस्थामा भोलि प्रशासनले रोकेमा के गर्ने भन्नेमा भने सञ्चालकहरु द्विविधामा छन्। ‘हामीले गरेको निर्णय स्थानीय सरकार र प्रशासनलाई पनि जानकारी गराउँछौं,’ न्यू मनकामना अंग्रेजी स्कुलका सञ्चालक तिलकबहादुर चौहानले भने,‘सामुहिक निर्णय भएकाले भोली केही समस्या आएमा सल्लाह गरेर अघि बढ्ने कुरा भएको छ।’

जिल्ला सभाले नै विद्यालय खुलाउनका लागि प्रदेश र संघमा अनुरोध गरेकाले आफूहरुलाई पठनपाठन अघि बढाउन बाटो खुलेको उनको दाबी रहेको समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्