Logo

कांग्रेसलाई लाग्यो महाधिवेशनः नेतृत्वका लागि आन्तरिक लबिङ तीव्र



काठमाडौं, १२ साउन । कोभिड— १९ का कारण करिब चार महिना ठप्प प्रमुख प्रतिपक्षी कांग्रेसको आन्तरिक राजनीतिक लकडाउन खुकुलो भएसँगै गर्माएको छ। पार्टीको १४औं महाधिवेशन फागुनमै गर्ने गरी असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरेपछि कांग्रेसमा चुनावी सरगर्मी एकाएक चुलिएको हो।

नेताबीच भेटघाट र छलफल बाक्लिएका छन् भने अनौपचारिक गुटगत भेला पनि हुन थालेका छन्। कांग्रेसको भावी नेतृत्वका लागि शीर्ष तहका नेताले सार्वजनिक रूपमै उम्मेदवारी घोषणा भने गरिसकेका छैनन्। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदका लागि लबिङ व्यापक बनाएका छन् भने केन्द्रीय सदस्य गगन थापा पनि युवा नेताका साथ पाए सभापतिमा लड्ने बताउँदै आएका छन्।

संस्थापन पक्षबाट देउवा र निधि मात्रै आकांक्षी छन् भने पौडेल समूहबाट भने करिब आधा दर्जन नेताले नेतृत्वका लागि सक्रियता बढाएका छन्। १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित वरिष्ठ नेता पौडेलसँगै, महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्य शेखर कोइरालाले नेतृत्वका लागि दाबी गर्दै आएका छन्। पौडेल समूहकै नेता डा। रामशरण महत पनि पार्टीमा आफू वरिष्ठ भएकाले नेतृत्वका लागि स्वाभाविक दाबेदार भएको बताउँदै आएका छन्। तेस्रो धारको नेतृत्व गर्दै आएका नेता सिटौला भने आसन्न महाधिवेशनमा कुनै एक समूहसँग मिलेर चुनावमा जाने रणनीतिमा रहेको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्