Logo

व्यापार घाटा दुई खर्बले घट्यो



काठमाडौँ, १२ साउन । कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को व्यापार तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब २१ अर्ब रुपियाँले घटेको हो ।

बढ्दो आयात र निर्यातमा सामान्य मात्र वृद्धि हुँदा उक्लिँदो व्यापार घाटाको ग्राफमा कोरोनाले ‘ब्रेक लगाइदिएको हो । विभागका अनुसार आव २०७५र७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको नेपालको व्यापार घाटा १६।७१ प्रतिशतले घटेर ११ खर्ब ६४ करोड रुपियाँ पुगेको हो ।

विश्व नै बन्दाबन्दीको अवस्थामा रहँदा नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्क घटेको देखिन्छ । समग्र आयात नै १५।६३ प्रतिशतले घटेर समीक्षा अवधिमा ११ खर्ब ९६ अर्ब रुपियाँ पुगेको छ । त्यसको अघिल्लो आवमा नेपालले १४ खर्ब १८ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।

आयातमा देखिएको करिब दुई खर्ब २२ अर्ब रुपियाँको अन्तरले नेपालको विदेशी मुद्रा सञ्चिति बढाएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले नेपालसँग करिब १३ खर्ब रुपियाँको विदेशी मुद्राको सञ्चिति छ । जुन समीक्षा अवधि अनुसार एक वर्षको आयात धान्न पर्याप्त देखिन्छ ।

गत आवमा आश्चर्यजनक रूपमा उकालो लागेको नेपालको निर्यात व्यापार अन्तिम चौमासिकमा गरिएको बन्दाबन्दीका कारण सामान्य घट्न पुगेको छ । विभागका अनुसार नेपालले गत आवमा ९६ अर्ब १५ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.९८ प्रतिशतले कम हो । यो समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्