Logo

दुई दर्जन बस्ती उच्च जोखिममा



ओखलढुङ्गा, १२ साउन । सिद्धिचरण नगरपालिका ८ सल्लेरीमा १० वर्षअघि सुरु भएको पहिरोले स्थानीय गोविन्दप्रसाद पौडेल विस्थापित हुने अवस्थामा पुग्नुभएको छ । घरैसम्म पहिरो आइपुगेपछि दुई वर्षअघि मात्र केहीमाथि घर बनाएर सरेको पौडेल परिवारलाई अझै पनि पहिरोले पछ््याउन छाडेको छैन ।

सल्लेरीमा उहाँको मात्रै होइन स्थानीय भीमबहादुर गुरुङ, रामबहादुर गुरुङलगायत ४० परिवार र एक विद्यालयसमेत तिलखोरिया पहिरोको जोखिममा छन् । एक सय रोपनीभन्दा बढी खेतबारी यो पहिरोले बगाइसकेको छ । नियन्त्रणका लागि प्रयास भए पनि पहिरो डरलाग्दो भएकाले स्थानीयस्तरमा संभव नभएको सिद्धिचरण नगरपालिका वडा नं ८ का वडाध्यक्ष हेम तामाङ बताउनुभयो  ।

पहिरो नियन्त्रणका लागि जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयबाट हरेक वर्ष योजना परे पनि काम नभइ बजेट दुरुपयोग हुने गरेको स्थानीयको गुनासो छ । यस्तै, मोलुङ गाउँपालिका वडा नं २ वरुणेश्वरस्थित डाँडागाउँमा पहिरोको चपेटामा परेका स्थानीयको अवस्था पनि उस्तै छ । डाडाँ गाउँकी ६८ वर्षीय फुटी शेर्पा वर्षायाम सुरु भएपछि पहिरोको डरले रातभर जागै बस्ने गरेको बताउनुभयो ।

गाउँमै बाँस र खरको सानो झुप्रो बनाएर बसिरहनु भएकी उहाँ आठ वर्षअघि नै पहिरोले गर्दा घर जोखिममा परेपछि विस्थापित हुनु भएको हो । २०५० सालभन्दा अघि लिपेखोलाको कटानका कारण चलेको डाँडागाउँको पहिरोले करिब तीन सय रोपनी जमिन बगाइसकेको छ । आधा दर्जनभन्दा बढी घर विस्थापित गराएको पहिरोका कारण सिङ्गो गाउँ नै धाँजा फाँटेको छ ।

ओखलढुङ्गा जिल्लालाई भूक्षयका दृष्टिकोणले प्रदेश १ कै सबैभन्दा संवेदनशील जिल्ला मानिए पनि ठूला पहिरो नियन्त्रणका लागि हालसम्म कतैबाट पहल हुन सकेको छैन । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक अनुसार ओखलढुङ्गाका २२ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot