Logo

बामदेवले भनिदिएः म कसैको पक्षमा छैन, पार्टी फुट्न नदिने पक्षमा छु



काठमाडौं, १२ साउन । पार्टी फुटको पीडा कसैलाई छ भने नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई छ । महाकाली सन्धीको विषयमा तत्कालिन नेकपा एमालेमा विवाद हुँदा पार्टी ह्वीप समेत नमानेर मतदान नगरेका उनलाई कारबाही गरियो । त्यसपछि उनले नेकपा फुटाएर नेकपा माले गठन गरे । पछि फेरि एमालेमा फर्किए ।

फुटको पीडा भोगेका बामदेवले यसपटक नेकपा विवादमा संयमता देखाउन थालेका छन् । शुरुमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष बामदेव गौतमलाई राजीनामा गर्न लगाउने पक्षमा उभिए । तर, ओली राजीनामा दिन तयार देखिएनन् । उनले नेकपा फुटाउने देखि संकटकाल घोषणा गर्ने सम्मको संकेतहरु गरिदिए । त्यसपछि सहमतिको फरक अवस्था तयार गर्ने प्रयास भयो । अर्ली महाधिवेशन देखि चुनावी सरकारको प्रधानमन्त्री प्रचण्डलाई बनाउने सम्मको विषय अगाडि सारियो । तर, बल्ल बल्ल बन्न लागेको सहमति भाँडिएको छ ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल कुनै हालतमा ओलीलाई हटाइ छाड्ने अडानमा छन् । बामदेवले भने दुर्घटनाको सम्भावना देखेर अर्ली महाधिवेशन गर्ने गरी चैत्रसम्म पर्खन सुझाव दिएका छन् । उनले प्रचण्ड, माधव र झलनाथसँगको भेटमा आफू कसैको पक्षमा नरहेको जवाफ दिएको विश्वस्त स्रोतले जानकारी दिएको छ । ‘म अब कसैको पक्षमा छैन, पार्टी फुट्न नदिने पक्षमा छु,’ बामदेवको भनाई उदृत गर्दै निकट स्रोतले भन्यो ।

बामदेवले आफूमाथि ओलीले पटक पटक अन्याय गरेको समेत उल्लेख गरे । एमाले फुट्दा होस् या जुटिसकेपछि पनि चुनाव हराउनेसम्मको गतिविधि गरेको सुनाए । बरु आफूले अध्यक्ष बन्न सहयोग गरेको तर घात भोगेको सुनाए । यति हुँदा हुँदै पनि पार्टी जोगाउनका लागि कसैको पक्षमा नबसी फुट्न नदिने पक्षमा रहेको सुनाएका थिए ।

प्रचण्ड र माधव नेपालले बामदेव ओलीसँग नजिकिएको भन्ने अर्थमा बुझ्न थालेपछि उनले दुवै नेताका निकटस्थसँगको भेटमा पनि आफू पार्टीलाई दुर्घटनाबाट जोगाउन गम्भीर भएको समेत बताएका थिए । बामदेवले ओलीले जस्तोसुकै निर्णय लिन पछि नपर्ने भएकाले संयमता अपनाएर जानुपर्ने मत समेत राखेको बुझिएको छ ।

नेकपाभित्र ओली र ओलीइतरका समुहहरु एकले अर्कामाथि कारबाही गर्ने सम्मको तयारीमा पुगिरहँदा बामदेवले संयमता अपनाउने गरी सहमतिको बिन्दु तयार गर्न सक्रियता देखाइरहेका छन् । उनको भैंसेपाटीस्थित निवासमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालनिकटस्थ नेताहरुको बाक्लो आवतजावत हुन थालेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्