Logo

सुनिलबहादुर थापा भोलि औपचारिक रुपमा काँग्रेस प्रवेश गर्ने



काठमाडौं, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा भोलि औपचारिक रुपमा नेपाली काँग्रेस प्रवेश गर्ने भएका छन् । उनको काँग्रेस प्रवेश तय भएको निकट स्रोतले जानकारी दिएको छ ।

थापाले कुन पद पाउने भन्नेबारे टुंगो लागिसकेको छैन । उनलाई सहमहामन्त्री बनाउनेबारे काँग्रेसको शिर्ष नेताको तहमा छलफल चलेको बुझिएको छ । अहिले केन्द्रीय सदस्य बनाएर पछि पदाधिकारी बनाउनेबारे समेत छलफल चलेको स्रोतले जानकारी दियो । थापासहित केही नेताहरुले पनि काँग्रेस केन्द्रीय कमिटीमा स्थान पाउने बुझिएको छ । यसअघि सुनील थापाको टिमका ३१ भन्दा बढीले एकसाथ राप्रपाबाट राजीनामा दिएका थिए ।

राप्रपाका संस्थापक अध्यक्ष सुर्यबहादुर थापाका छोरा सुनिलबहादुरको काँग्रेस प्रवेशको तयारीलाई अर्थपूर्ण मानिएको छ । पिता सुर्यबहादुरकै शैलीमा धनकुटा राजनीतिक थलो बनाएका सुनिलसँग राजनीतिमा लामो अनुभव भने छैन । तर, उनले छोटो समयमा महत्वपूर्ण उपलब्धि भने हासिल गरेका छन् ।

नेपालको राजनीतिमा पाँच पटक प्रधानमन्त्री बनेका सुर्यबहादुर थापाको विरासत धान्ने गरी सुनिल राजनीतिक मैदानमा उत्रिएका थिए । उनी एकपटक सांसद बनेर मन्त्री भइसकेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्