लण्डन, १३ साउन । पहिलोपटक घरपालुवा जनावरमा कोरोना संक्रमण भेटिएको छ । स्काई न्युजका अनुसार इङल्याण्डमा सो संक्रमण भेटिएको हो । वेब्रिज सरेमा रहेको एक प्रयोगशालामा जुलाई २२ मा सो संक्रमण भेटिएको बताइएको छ ।
घरधनीबाट सो बिरालोमा कोरोना संक्रमण फैलिएको प्रमाणहरु भेटिएको छ । घरधनीलाई यसघि कोरोना संक्रमण पुष्टी भएको पाइएको थियो र हाल बिरालो र घरधनी दुवै कोरोनामुक्त भएको सरकारले जनाएको छ । सरकारले बिरालोबाट घरधनी र घरमा रहेका अन्य घरपालुवा जनावरहरुमा संक्रमण सरेको कुनै प्रमाण नपाइएको पनि प्रष्ट पारेको छ ।
प्रमुख पशुचिकित्सा अधिकृत क्रिस्टिन मिडलमिसले यो दुर्लभ घटना भएको र संक्रमित बिरालोमा सामान्य लक्षण मात्र देखापरेको र केही दिनमै निको भएको बताइन् । जनस्वास्थ्य इङल्याण्डकी यभोन डोयलले यस घटनाबाट सजग हुनुपर्ने कुनै कारण नभएको बताइन् । ”कोरोना संक्रमणबाट जोगिन जनावरहरुलाई छुनुअघि र छोएपछि हात धुनुपर्छ’ उनले भनिन् ।
सो बिरालोलाई पहिले श्वास प्रस्वासमा समस्या भएको एक निजी पशु चिकित्सकले पत्ता लाएका थिए । तत्पश्चात नमूना परीक्षण गर्दा कोरोना संक्रमण भेटिएको थियो । सो घटनाका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइसकिएको बताइएको छ ।
युरोप, उत्तरी अमेरिका र एसियामा घरपालुवा जनावरहरुमा कोरोना संक्रमण अत्यन्तै कम रहेको बताइएको खबर आजको वीनेपालीले प्रकाशन गरेको छ ।